राजनीति

नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने

जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने औपचारिक बाटो खुलेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले यसलाई मूर्तरूप दिएको हो। कर्णाली प्रदेशका सांसद टेकराज पछाईका अनुसार यो निर्णयले सिंजा क्षेत्रका तीनवटा गाउँपालिका- हिमा, सिंजा, र कनकासुन्दरीका स्थानीयलाई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ।

पछाईले यो उपलब्धि कसैको एकल प्रयास नभएर सबै पक्षको साझा प्रयासको परिणाम भएको बताए। ‘स्थानीय जनता, बौद्धिक वर्ग, जनप्रतिनिधि, राजनीतिक दल, र पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालका अनुसार यो निर्णयले सिंजाली जनताको विकासप्रतिको अपेक्षामा नयाँ उचाइ थपेको छ। ‘स्थानीय सरकारको निरन्तर प्रयास र लामो पर्खाइपछि मात्रै यो सम्भव भएको हो,’ उनले भने।

विगतमा सिंजा क्षेत्रका बासिन्दाले मालपोत र नापीसम्बन्धी कामका लागि सदरमुकाम खलंगासम्म पुग्नुपर्ने बाध्यता थियो। उक्त कार्यालयहरु पायक पर्ने ठाउँमा नभएकाले नराकोटमा कार्यालय स्थापना गर्न माग गरिएको थियो।

सिंजामा कार्यालय स्थापनासँगै प्रशासनिक सेवा सहज र छिटो हुने अपेक्षा गरिएको छ। ‘यसअघि खलंगामा भिडभाड हुने समस्या समाधान हुने मात्र होइन, सेवाग्राहीले समय र खर्च दुबै जोगाउन सक्नेछन्,’ धितालले बताए।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार यो निर्णयले आर्थिक र सामाजिक सुधारका नयाँ सम्भावना खोल्नेछ। साथै, प्रभावकारी सेवा सुनिश्चित गर्न आवश्यक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता पनि उनीहरूले औंल्याएका छन्।

सिंजाली जनताको जीवनस्तर उकास्ने र विकासको गति तीव्र बनाउने यो निर्णयले क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रकाशित: १० पुस २०८१ १८:४६ बुधबार