नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको टिप्पणी गरेका छन्।
बुधवार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो टिप्पणी गरेका हुन्। उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए। उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गरे। उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे। निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताए।
उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरु कुनैपनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौं । संविधान सभाको कुरा २००७ सालमै नेपाली काँग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काँग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष ग¥यौं ।’
प्रकाशित: १० पुस २०८१ १७:३९ बुधबार