राजनीति

लगानी सम्मेलनको विषयमा विवाद छैन: मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश लगानी सम्मेलनका विषयमा कुनै पनि विवाद नरहेको दाबी गरेका छन्।

नेपाल पत्रकार महासंघ मोरङको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश लगानी सम्मेलनका विषयमा कुनै पनि किसिमको विवाद नरहेको दाबी गरेका हुन्।

मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनका लागि केही संघीय ऐन, कानुनहरूबाधक रहे पनि अन्य कुनै पनि किसिमको बाधा विवाद नरहेको स्पष्ट पारे। कार्कीले भने ‘लगानी सम्मेलनका विषयमा कुनै पनि किसिमको विवाद छैन।’ कार्कीले निजी क्षेत्रका सबै संघ, संस्थाहरूलाई प्रदेश सरकारले बराबर व्यवहार गर्ने बताए।

उनले लगानी सम्मेलन आयोजनाका विषयमा पनि संयोजक मुख्यमन्त्री रहने र निजी क्षेत्रका संघ संस्थाहरूलाई सह–संयोजक बनाएकाले लगानी सम्मेलनका विषयमा निजी क्षेत्रलाई प्रदेश सरकारले प्रदेशका मन्त्रीहरू भन्दा माथिको सम्मान दिएको बताए। मुख्यमन्त्री कार्कीले प्रदेश लगानी सम्मेलनबाट ५० अर्ब भन्दा बढीको लगानी प्रदेशमा भित्रने सम्भावना देखिएको बताए। कार्कीले  पूर्वाधार बाहेकका कृषि, पर्यटन, उद्योग, जलस्रोतलगायतका क्षेत्रमा  लगानी आउने अवस्था रहेको जानकारी दिए।

यस अघि लगानी सम्मेलनको व्यवस्थापन उद्योग संगठन मोरङलाई दिने निर्णय भएको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विरोध गर्दै आएको थियो। कोशी प्रदेश सरकारले यही माघमा प्रदेश लगानी सम्मेलन आयोजनाको तयारी गरिरहेको छ।

मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा प्रदेश आम सञ्चार प्रतिष्ठान ऐन प्रदेशसभामा पेश गरिने जानकारी दिए। उनले ऐन पारित भएलगत्तै प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन हुने र पत्रकारिता क्षेत्रका सबै समस्या प्रतिष्ठान मार्फत प्रदेश सरकारले हल गर्ने स्पष्ट पारे। 

प्रकाशित: १० पुस २०८१ १७:२५ बुधबार