राजनीति

सत्तारूढ दलबाटै सरकारको आलोचना

केपी शर्मा ओली नेतृत्वको सरकारले जनतामा आशा जगाउन नसकेको जनाउँदै सत्ता साझेदार राजनीतिक दलका नेताहरूले नै असन्तुष्टि जनाउन थालेका छन्। संविधान संशोधनसहितका विषयलाई अघि सार्दै नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता साझेदारी गर्ने सहमतिसँगै ओली नेतृत्वमा सरकार गठन भएको थियो। तर सरकार गठनको पाँच महिना नबित्दै सरकारले जनतामा आशा जगाउन र गति समाउन नसकेको जनाउँदै प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन्।  

भ्रष्टाचार नियन्त्रण, सुशासनसहितका विषयमा सरकारको काम सन्तोषजनक नरहेको कांग्रेस नेताहरूको गुनासो गरेका छन्। जनहितमा काम गर्नुपर्ने सरकार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनेसहितका अनावश्यक कार्यमा अल्झिँदा संविधान संशोधनजस्ता मुल मुद्दाहरू ओझेलमा परेको पनि जनाएका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताउँदै आएका छन्। तर सरकारले जनतामा आशा जगाउन नसकेको जनाउँदै सुशासनसहितका विषयमा वर्तमान सरकार कमजोर देखिएको कोइरालाले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्।

कांग्रेसकै नेता मीनेन्द्र रिजालले राजधानीमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओली नेतृत्वको गठबन्धन सरकारले निषेधको राजनीति गरे देश दुर्घटनामा पर्ने चेतावनी दिए। सत्ताले स्वाभाविक रूपमा अलिअलि थिचोमिचो गर्ने जनाउँदै नेता रिजालले भने, ‘निषेधको राजनीतितिर गयौं भने दुर्घटना निम्तिनेछ।’ कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिअनुसार अघि बढ्न सरकारलाई सुझाउँदै उनले भने, ‘संविधान जारीपछिको नौ वर्षको अभ्यासले संविधान संशोधन गर्नुपर्ने अवस्था देखिएकाले कांग्रेस र एमाले एक ठाउँमा उभिएका हुन्।’

कसैको पनि बहुमत नआउने अवस्थाको अन्त्य गर्न दुई दल एक ठाउँमा आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे भएको जनाउँदै रिजालले थपे, ‘कांग्रेसको चुनाव चिह्नमा एमालेको उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा गठबन्धन बनाउनुपर्छ भनेको होइन।’ अहिलेको गठबन्धन सरकार ‘आगोको पर्खाल’मा रहेको जनाउँदै नेता रिजालले भने, ‘मेरो पार्टी सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली एक ठाउँमा छँदासम्म कसैले यो सरकार हल्लाउन सक्दैन। तर जनतामा निराशा कायमै राखेर सरकार बसिराख्यो भने जे जोगाउने भनेको हो त्यो जोगाउन नसकौंला।’ सात बुँदे सहमतिअनुसार संविधान संशोधनसहितका विषयमा काम अघि नबढेको रिजालले आरोप लगाए। तर कांग्रेसबाटै सरकारमा गृह मन्त्रालय सम्हालिरहेका नेता रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने दाबी गरेका छन्।  

संविधान संशोधनजस्तो विषय आजको भोलि हुने कुरा नभएको तर्क गर्दै मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखकले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गरिने बताए। ‘भोलिको पर्सि संविधान संशोधन हुने होइन र संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो,’ उनले भने।  

कांग्रेस नेत्री डिला संग्रौलाले अहिलेको सरकारका कामबाट जनता सन्तुष्ट नभएको बताइन्। कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानका क्रममा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सरकारले सकेको छैन, जनता धेरै असन्तुष्ट छन्।’ जनतासँग पुग्दा जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अलमलिएको बताउँदै उनले थपिन्, ‘वर्तमान गठबन्धन सत्ताका लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि कांग्रेस–एमाले एक ठाउँमा सत्ता सहकार्य गर्न पुगेका हुन्। त्यसअनुसार काम नभएको गुनासो जनतामा व्याप्त छ।’

विपक्षी माओवादी केन्द्रसहितका राजनीतिक दलहरूले वर्तमान सरकारले जनहितमा काम गर्न नसक्ने जनाउँदै आलोचना गर्दै आएका छन्। सोहीक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले दुई ठुला दल मिलेर बनेको सरकारले पनि जनताका आशा र अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। सरकार विकास र समृद्धिको बाटोमा हिँड्न नसकेको बताउँदै सोमबार आयोजित एक कार्यक्रममा शर्माले भने, ‘अहिले दुई ठुला दलको सरकार छ। तर यो पाँच महिनामा आइपुग्दा सम्बोधन नगरेको भन्ने कुरा यहाँहरूबाट नै सम्प्रेषण भइरहेको छ।’ विकास, समृद्धि र सुशासनका सन्दर्भमा सरकारले गति लिन नसकेको जनाउँदै जनले भने, ‘जनतालाई निराश बनाउने होइन, सुशासन, विकास र समृद्धिको अजेन्डाहरूमा जनतालाई आशा जगाउने दिशातिर सरकार अगाडि बढ्नुपर्छ।’

प्रकाशित: १० पुस २०८१ ०८:३५ बुधबार

#Oligovernment #NepaliCongress #NagarikDaily