सभमुख देवराज घिमिरेले कुरान वाचन प्रतियोगिताले शिक्षाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
सोमाबार काठमाडौँमा एक कार्यक्रमबीच दोस्रो कुरान वाचन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। उनले कुरान वाचन प्रतियोगिता आफैँमा रचनात्मक काम रहेको भन्दै कुरानले पनि अन्य धर्मग्रन्थ झैँ समाज, मानव जातिको मुक्ति, सुख र समृद्धिको बाटो देखाउने उल्लेख गरे। उनले कुरानको अध्ययनबाट समाजलाई सही दिशामा लैजानसक्ने प्रेरणा मिल्ने बताए।
उनले भने, ‘समाजको उन्नति, मानव जातिहरुको मुक्ति, सुख, समृद्धि र मानव जातिको अन्तिम ऐस ल्याउने बाटो नै के हुनसक्छ भन्नेकुरा सबै धर्मले गर्दछन् र कुरानले पनि त्यही कुरालाई दिन्छ। हाम्रो नेपाली समाजलाई जो इस्लामिक धर्मावलम्बीहरू छन्, उनीहरूले कुरानको अध्ययन गरिसकेपछि त्यो खालको अध्ययनले महत्वपूर्ण भूमिका खेल्छ।’
कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले दोस्रो कुरान वाचन प्रतियोगिता सम्पन्न भएको बताए। उनले कुरान वाचन प्रतियोगितामा प्रथम हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाएको जानकारी दिए। कुरान वाचन प्रतियोगिताले शिक्षालाई महत्वपूर्ण योगदान दिने उनको भनाइ छ।
'कुरान भनेको ३० पानाको कुरान कण्ठ पार्नु र विभिन्न जुरीहरूको बीचमा उहाँहरूले सोध्नुभएको बीचका जुनसुकै कुरा पढेर सुनाउनु शाहसिलो र बुलन्द आवाजका साथ सुनाउनु भयो। यो महत्वपूर्ण काम ठानेका छौँ। मदरसा पढ्नेलाई ऊर्जा थपिएको छ।’
दोस्रो कुरान वाचन प्रतियोगिता नेपाल मुस्लिम आयोग र साउदी अरब सरकारको सहयोगमा भएको हो। प्रतियोगितामा नेपालका विभिन्न मदरसामा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए। ६ विधामा कुरान वाचन प्रतियोगिता आयोजना गरेकोमा २ वटा विधामा किशोरीहरूले सहभागिता जनाएका थिए।
अनलाइनबाट नेपालका विभिन्न मदरसामा अध्ययनरत ४ सय विद्यार्थी छनोट गरिएकोमा १८ जनालाई पुरस्कार वितरण गरिएको हो। कुरान वाचन प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, दोस्रो हुनेलाई २ लाख ४५ हजार बाँकी सबै १६ जनालाई ५४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। कुरान वाचन प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी, कोशी, मधेश प्रदेशका विद्यार्थीको सहभागिता रहेको थियो।
प्रकाशित: ९ पुस २०८१ १०:३७ मंगलबार