राजनीति

रविसहित पाँच जनाको मुद्दा न्यायाधीश राईको इजलासमा

पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको पेसी न्यायाधीश नितिज राईको इजलासमा तोकिएको छ।

बयानका लागि पाँच जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। रविसहित पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई आज बिहान अदालतमा उपस्थित गराइएको हो।

न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने बताइएको छ। आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ।

हिजो आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ।

प्रकाशित: ८ पुस २०८१ १२:५८ सोमबार

#NagarikNews #Rabi Lamechhane #Sahakari prakaran