राजनीति

रविसहित ५ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइयो

फाइल तस्बिर

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

रविसहित पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई आज बिहान अदालतमा उपस्थित गराइएको हो ।

हिजो आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु भएको जानकारी दिए। 'गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,' उनले भने।

प्रकाशित: ८ पुस २०८१ ११:२९ सोमबार