राजनीति

सरकारी वकिल कार्यालयको मागदाबी- रविलाई अधिकतम २४ वर्षसम्म कैद सजाय

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले रवि लामिछानेलाई अधिकतम २४ वर्ष कैद सजाय गर्न मागदाबी गरेको छ ।

आइतबार (आज) लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दायर गर्दै कार्यालयले यस्तो मागदाबी गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को २७ अनुसार लामिछानेलाई २ देखि १५ वर्षसम्म कैद सजाय हुनुपर्ने मागदाबी गरिएको छ । त्यस्तै सहकारी ठगीमा ४ देखि ६ वर्ष सजाय गर्नुपर्ने मागदाबी लिइएको छ ।

सहकारी ऐन, २०७४ को दफा १२४ बमोजिम १ करोडदेखि १० करोडसम्म बिगो भएमा ४ देखि ६ वर्ष कैद हुने व्यवस्था छ ।

लामिछानेविरुद्ध सहकारी ठगीमा ३ करोड ३७ लाख बिगो मागदाबी लिइएको छ । 

त्यस्तै, सरकारले उनीविरुद्ध सङ्गठित अपराधको कसुर पनि लगाएको छ । सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ । उनीविरुद्ध दायर गरिएको अभियोगपत्रअनुसार कम्तीमा २४ वर्ष सजाय हुन मागदाबी लिइएको छ ।

लामिछानेविरुद्ध आज सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको छ । लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

अहिले उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् । थुनछेक बहस सकिँदासम्म उनी त्यती रहनेछन् ।

प्रकाशित: ७ पुस २०८१ २१:२३ आइतबार

#rabilamichhane