प्रधानमन्त्री केपी शर्मा ओलीले योगीहरूका लागि मात्र नभई अब ध्यान सांसारिक जीवन जिउनेका लागि पनि अनिवार्य भइसकेको बताएका छन्।
काठमाडौंको टुँडिखेलमा प्रथम विश्व ध्यान दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। ध्यानले निरोगी नेपाल बनाउने उनले बताए।
प्रधानमन्त्री ओलीले भने, ‘पछिल्लो पिढी विभिन्न रोग, तनाव र समस्याग्रस्त जीवन बाँचिरहेकाले यसबाट मुक्त हुन तथा आफू, परिवार, समाज, देशलाई नै निरोगी, स्वस्थ र आरोग्यमय तुल्याउनका लागि जीवनलाई ध्यानमय बनाउन सबैसँग आग्रह गर्दछु।’
प्रधानमन्त्री ओलीले आजको दिनलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेकोमा संयुक्त राष्ट्रसंघ र यसका महासचिव एन्टोनियो गुटेरेसलाई पनि धन्यवाद दिएका छन्।
प्रधानमन्त्री ओलीले भने, ‘बलिरहेको आगो निभाउन पानी हालेजस्तै हामीभित्र रहेको तनाव र अशान्ति हटाउने एक मात्र माध्यम योग र ध्यान भएको उनले स्पष्ट पारे। आज मात्र होइन वर्षका ३६५ दिन नै ध्यान गरेर आफूलाई सकारात्मक बनाउन सके मात्र विश्व ध्यान दिवसको सार्थकता रहने प्रधानमन्त्री ओलीले बताए।
ओलीले भने, ‘आज जुन अवस्था छ, त्यसभन्दा सकारात्मक परिणाम ल्याउन ध्यान प्रभावकारी भएको पाइएकाले सरकारले आफ्ना कार्यालयहरूमा योग र ध्यान गराउन थालेको छ। नेपाललाई ध्यानभूमि, योगभूमिका रूपमा चिनाउन सबै मिलेर अगाडि बढौं।’
जीवन विकास विशेषज्ञ तथा संस्थापक एलपी भानु शर्माले नेपाल ध्यानभूमि, योगभूमि, तपोभूमि भएकाले यसलाई आरोग्य केन्द्र बनाउने गरी रणनीति बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरे। ७० भन्दा बढी देशमा योग र ध्यान फैलिसकेको बताउँदै उनले यसको स्वामित्व लिने गरी नेपालले नै अगुवाइ गर्नुपर्ने स्पष्ट पारे।
उनले भने, ‘आरोग्य मन्त्रालय स्थापना गरेर यसका माध्यमबाट सबै सरकारी कार्यालय, निजी संस्था र सिंगो मुलुकलाई आरोग्यमय बनाऔं। विश्वका मानिस नेपाल आऊन् र मन शान्त बनाएर जाऊन्। यसबाट मात्र सुख, शान्ति र समृद्धिको मार्गप्रशस्त हुन्छ।’ विश्वलाई एक बनाउने तागत ध्यानसँग मात्र रहेको उनले बताए।
ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ध्यान योगीहरूका लागि मात्र होइन, भोगीहरूका लागि अनिवार्य भइसकेको बताएका छन्। स्वामी अरुणले आजको दिन डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउन विगत १० वर्षदेखि प्रयास हुँदै आएको र त्यसमा सफलता मिलेकोमा प्रसन्नता व्यक्त गरे। संयुक्त राष्ट्रसंघले डिसेम्बर ७ मा यसलाई मान्यता प्रदान गरेको थियो।
उनले भने, ‘सुरुसुरुमा डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा प्रस्ताव लैजाँदा हामीलाई हिन्दु बनाउन खोजिएको भन्ने विरोधको आवाज उठेको थियो। अहिले सबै देशले यसलाई सहर्ष स्वीकार गरेका छन्।’ स्वामी अरुणले अब डिसेम्बर २१ ध्यान गर्नेहरूका लागि पर्वको दिनका रूपमा स्थापित हुने बताए।
स्वामी अरुणले नेपालमा एउटा योग ध्यान विश्वविद्यालय स्थापना गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। उनले भने, थुप्रै ऋषिमुनिले तपस्या गरेको पवित्र भूमि हो यो। पछिल्लो समय विदेशबाट नेपाल आएर तप गर्नेहरु पनि धेरै छन्।
यसर्थ पनि नेपाल संसारका मानिसहरूको आरोग्य केन्द्रस्थल बनाउन तथा ध्यान, योग, आयुर्वेद र नेचुरोप्याथी अध्ययन गर्न ठूलो संख्यामा विदेशी आउने भएकाले बिलम्ब नगरीकन नेपालमा एउटा योग ध्यान विश्वविद्यालय स्थापना गर्न म प्रधानमन्त्रीसँग अनुरोध गर्दछु।’
मुख्यसचिव एकनारायण अर्यालले विभिन्न संघसंस्थाले विभिन्न विधि बनाई सर्वसाधारणमा योग र ध्यान पुर्याउन सहयोग गरिरहेको बताए। ऋषिमुनिहरूले ध्यान गरेको पवित्र भूमि नेपालले अब ध्यानलाई अभिन्न अंगका रूपमा अँगाल्नुपर्नेमा उनले जोड दिए।
नेपाल योगभूमि तपोभूमि किन ?
भगवान् शिव, भगवान् गौतमबुद्ध, राजर्षि जनक, अष्टावक्र, वेदव्यास, मरीचि, देवदत्त, शुकदेव, पाणीनि, भरत, भृगु, जडभरत, कौशिक वाल्मीकि, अत्रि, दत्तात्रय, कपिल, पराशर, शमिक, शृंगी, पुलस्त्य, विश्वामित्र, वशिष्ठ, माण्डव्य आदि ऋषिमुनि, गुरु नानक, खप्तडबाबा, शिवपुरी बाबा, गोख्लेबाबा, पद्मसम्भव, स्वामी रामानन्द, योगी नरनरिनाथ, योगमाया, जीवन विकास विशेषज्ञद्वय एलपी भानु शर्मा र रमेश नेपाल। स्वामी अरुणका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न मुक्तिनाथ आएका थिए। चीनबाट पनि यहाँ तप गर्नका छन्।
प्रकाशित: ६ पुस २०८१ २१:२४ शनिबार