राजनीति

खेलप्रेमीलाई विजय उत्सव मनाउन मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एनपिएलको निर्णायक खेलमा जनकपुर बोल्ट्सको ऐतिहासिक जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा, र उत्साहमा वृद्धि गरेको उल्लेख गर्दै यो सफलता हर्षोल्लासका साथ मनाउन खेलप्रेमीहरूलाई आग्रह गरेका छन्।

उनले जनकपुर बोल्ट्सको विजयलाई मधेस प्रदेशका बासिन्दाको खेलप्रेम, निष्ठा, र जितप्रतिको प्रार्थनाको प्रतिफल भएको बताए। प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको जनकपुरधामको नामबाट विजयी टोली मधेस प्रदेशको गौरव र सिंगो देशको प्रेरणाको स्रोत भएको उल्लेख गरे।

मुख्यमन्त्री सिंहले जनकपुर बोल्ट्सले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको र टोलीले अन्तिम खेलमा कुशल रणनीति, उच्च मनोबल, र धीरतापूर्ण खेलबाट प्रदेशवासीको अपेक्षालाई पूरा गरेको बताए।

उनले भने, ‘एनपिएलजस्ता प्रतियोगिताले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना र खेल पर्यटनको विकासको मार्ग प्रशस्त गरेको छ। यसले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटका लागि खेल, खेलाडी, र दर्शक सबै दृष्टिले तयार रहेको सन्देश पनि विश्वसामु पुर्‍याएको छ।’

मुख्यमन्त्री सिंहले खेलले समाजमा एकता, सद्भाव, र सहिष्णुताको भावना विकास गर्ने बताए। एनपिएलको सफल आयोजनाले नेपाली क्रिकेटको उच्च स्तरलाई पुनः पुष्टि गरेको उनको धारणा थियो।

मुख्यमन्त्री सिंह जनकपुर बोल्ट्सलाई हौसला दिन त्रिवि क्रिकेट मैदानमै उपस्थित भएका थिए। उनले जित हासिल गरेका जनकपुर बोल्ट्सका सबै खेलाडी, टोली सदस्य, र अधिकारीलाई बधाई दिंदै अझ प्रगतिको शुभकामना व्यक्त गरे।

उनले भने, ‘मधेस प्रदेशको भूमि ज्ञान, तप, र सामर्थ्यको स्रोत हो। यस प्रदेशले क्रिकेटलगायतका खेलमा योग्य र प्रतिस्पर्धी खेलाडी उत्पादन गर्दै आएको छ र यो क्रम निरन्तर जारी रहनेछ।’

मुख्यमन्त्री सिंहले खेलकुदको समग्र विकासमा मधेस प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशका लाखौँ नागरिकको आशा र सपनासँग खेल क्षेत्रको प्रगति जोडिएको बताए।

प्रकाशित: ६ पुस २०८१ २०:२५ शनिबार