राजनीति

हामी नीतिगत सुधारको बाटोमा छौँ, परिणाम आउन समय लाग्छ : मन्त्री पाण्डे

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। 

शुक्रबार (आज) भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन। नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ। यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ।” पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उनको भनाई छ।  

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरेकाे भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको पनि जानकारी दिए।  

उनले भने, “यस विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ। उक्त समितिले पर्यटन क्षेलाई कसरी रुपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ।”

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने पनि स्पष्ट पारेका छन्।  

सो अवसरमा उनले नागरिक उड्ययन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग–अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको जानकारी गराए।  

मन्त्री पाण्डेले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको स्पष्ट पारेका छन्। नेपाल एयरलाइन्सको एउटा मात्रै ट्वीनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्वीनअटर  सञ्चालन गर्नेगरी काम भइरहेको पनि उनको भनाई थियो। रासस

प्रकाशित: ५ पुस २०८१ १२:५८ शुक्रबार

#Badri Prasad Pandey #NagarikNews