राजनीति

एकीकृत समाजवादीमा पनि घनश्याम भुसाल किनारीकृत

घनश्याम भुसालले एक बौद्धिक तथा वैचारिक कम्युनिष्ट नेताको छवि बनाएका छन् । उनी पढ्छन्, लेख्छन् र त्यसको निष्कर्ष विभिन्न मञ्चहरूमार्फत सुनाउँछन् । यही कारण पनि उनी बौद्धिक र वैचारिक कम्युनिष्ट नेता मानिएका हुन् ।

तर, उनको पार्टी जीवन भने न्यति सुखद छैन । नेकपा (एमाले) मा उपमहासचिवसम्म बनेका उनी दशैं महाधिवेशनमा उपाध्यक्षमा पराजित हुन पुगे । जबकि, अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका ६ जना नै नेता उपाध्यक्ष निर्वाचित भएका थिए ।

त्यसपछि उनी पार्टीभित्र किनारीकृत हुँदै गए । यतिसम्म कि उनले २०७९ मंसिर ४ मा हुँदै गरेको संसदीय निर्वाचनमा टिकटसमेत पाएनन् । यसपछि उनले २०७९ असोज २२ गते एमालेबाट राजीनामा दिए र मंसिर ४ मा हुँदै गरेको संसदीय निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिए । तर, एमालेकै छविलाल विश्वकर्मासँग पराजित भए ।

पार्टीमा नेतृत्वका प्रति 'र्‍यास्नल' भएर प्रस्तुत हुने भुसाल अहिले नेकपा (एकीकृत समाजवादी) मा महासचिव छन् । यो पार्टी एमालेकै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले गठन गरेका हुन् ।

माधवले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दै गर्दा विभाजनको विपक्षमा उभिएका घनश्याम भुसाल प्रकारान्तरले त्यही पार्टीको महासचिव बन्न पुगे । 

एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम ।

गत असारमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनमा पार्टी अध्यक्ष हुन बल गरेका थिए तर, हुन सकेनन् । उनले पार्टीका दुई अग्रज नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई वरीयतामा अगाडि राखेर आफू तेस्रो वरीयताको अध्यक्ष बन्नेसमेत प्रस्ताव लगेका थिए तर, भएन ।

अन्तत: उनले महासचिवमै चित्त बुझाउनुपर्‍यो । अहिले महासचिवकै रूपमा कार्यसम्पादन गर्दै आएका घनश्याम भुसालले आफूले रोजेको विभागसमेत पाएनन् । भुसालले पार्टीको सङ्गठन विभाग प्रमुख हुन चाहेका थिए तर, माधवले दिएनन् ।

यो विभाग माधवले पूर्वमहासचिव डा. वेदुराम भुसाललाई दिएका छन् । एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्दा वेदुराम भुसाल महासचिव बनेका थिए भने घनश्याम भुसाल त्यसको विपक्षमा उभिएका थिए । अहिले आएर यसकै पटाक्षेप देखिएको व्याख्या हुन थालेको छ ।

सङ्गठन विभाग नपाएको खण्डमा घनश्याम भुसालले अनुगमन तथा निर्देशन विभाग मागेका थिए तर, त्यो पनि पाएनन् । अन्तिममा उनी अनुगमन तथा मूल्याङ्कन विभागमा थन्किन पर्‍यो ।

यसरी एमालेमा किनारीकृत भएर एकीकृत समाजवादीमा आएका घनश्याम भुसाल यहाँ पनि त्यही नियतिबाट गुज्रिरहनु परेको छ ।

प्रकाशित: ३ पुस २०८१ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App