राजनीति

गृहमन्त्रीको प्रतिप्रश्न: छाक काटेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ?

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै किसिमको मानवअधिकार उलङ्घन नभएको दाबी गरेका छन् । बुधवार बिहान रुपन्देहीमा पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले शान्ति सुव्यवस्थाको संवेदनशीलतालाई मध्यनजर गर्दै राति अड्डा सार गरिएको बताएका हुन् । 

‘रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकारको उल्लङ्घन भयो भनेर केही साथीहरू बोल्नुभयो । प्रमुख प्रतिपक्ष दलको नेता पनि बोल्नुभयो । हाम्रै पार्टीका नेताहरू पनि बोल्नुभयो,’ गृहमन्त्री लेखकले भने, ‘उहाँको कुनै मानव अधिकारको उल्लङ्घन भएको छैन । उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैर कानुनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो ।’  

त्यो शान्ति सुरक्षा भनेको सबैका लागि र स्वयं रास्वपा सभापति लामिछानेका लागि पनि रहेको गृहमन्त्री लेखकले जिकिर गरे । उनले भने, ‘अनुसन्धान त हुन्छ त । आपराधिक कार्यमा अनुसन्धान हुँदैन ?’ 

मानव अधिकारकै कुरा गर्दा सहकारीमा ठगिएकाहरूको पनि मानव अधिकार हुने गृहमन्त्री लेखकले बताए । ‘लाखाँै मानिसको अर्बौँ रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भएको छ, दुरुपयोग भएको छ, ठगी भएको छ, हिनामिना भएको छ, कसको पैसा, सहकारीमा पैसा राख्ने मान्छे सबै धनी मानी छन् ?,’ उनले प्रश्न गरे, ‘फुटपाथमा मकै पोलेर मकै बेच्ने र त्यसबाट आएको आर्जनले आफ्ना सन्तानको छाक काटेर बचाएर राखेको पैसा लुटिएको छ, तिनको मानव अधिकार छैन ? तिनको मानव अधिकारको चिन्ता छैन ?’ तर राज्य पक्षबाट अनुसन्धान गर्दा कोही कसैको मानव अधिकारको कुनै हनन नभएको उनले दाबी गरे । 

अनुसन्धान भिडबाट निर्देशित नभई प्रक्रियागत रूपमा हुने पनि गृहमन्त्री लेखकले बताए । उनले भने, ‘अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिलको कार्यालय घेरेको छ, कहिले अदालत घेर्न कोसिस गरेको छ । अनि भीडले न्याय गर्दछ ?’ 

लोकतन्त्र, संविधान, अनि समाजलाई मर्यादित, सभ्य, राम्रो, बनाउँदै लैजाने नभई भीडले नै न्याय गर्ने हो भने पुलिस किन चाहियो, सरकारी वकिल किन चाहियो ? भनी उनले प्रश्न गरे । भिडकै कारण प्रक्रियामा जाँदा शान्ति सुरक्षा कायम गर्न राति लैजानु परेको गृहमन्त्री लेखकले प्रस्ट्याए । ‘प्रक्रियामा त सबै जानुपर्‍यो नि । सडकबाट न्याय प्रभावित गर्ने कोसिसहरू भएको हुनाले शान्ति सुरक्षा कायम गर्नका लागि उहाँलाई लैजानुपर्‍यो । उहाँ काठमाडौंबाट पोखरा राति जाँदा मानव अधिकार हनन हुँदैन, चितवनबाट पोखरा जाँदा हनन हुन्छ ? दूरी छोटो भएर हनन भएको हो ?’, उनले भने । 

प्रकाशित: ३ पुस २०८१ ११:५६ बुधबार

#Ramesh Lakahk #Rabi Lamichhane #Cooparative Scam