राजनीति

बुहारी भित्रिए जसरी एकीकृत समाजवादी भित्रिन्नँ : वामदेव गौतम (अन्तर्वार्ता)

वामदेव गौतमले २०७८ भदौ १८ गते दोस्रो पटक नेकपा (एमाले) परित्याग गरे । त्यसअघि २०५४ सालमा एमाले त्यागेका गौतम २०५८ सालमा पुन: पार्टीमै फर्किएका थिए ।

गौतमले यसबीचमा पुन: एमालेमै फर्किने चाहना गरे तर, अध्यक्ष केपी शर्मा ओलीले 'भाउ' दिएनन् । यसपछि उनले नेकपा (एकीकृत समाजवादी) भित्रिने तरखर गरेका छन् ।

एमाले परित्याग गरेपछि नेकपा एकता राष्ट्रिय महाअभियान गठन गरेका गौतम अहिले पूरै सङ्गठनसहित नै एकीकृत समाजवादी प्रवेशको तयारीमा छन् ।

एकीकृत समाजवादीका नेताहरूले गौतमलाई भित्र्याउने तयारी भइरहेको बताएका छन् । गौतमले भने आफू मात्रै भित्रिने नभइ पार्टी एकता हुनुपर्ने माग गरेका छन् ।

त्यसो भए कहिले होला गौतमको एकीकृत समाजवादी प्रवेश ? त्यहाँ उनको 'पोजिसन' के हुन्छ ? संवाद कहाँ पुग्यो ? उनै गौतमसँग गरिएको संक्षिप्त संवाद—

***

तपाईं एकीकृत समाजवादी प्रवेश गर्दै हुनुहुन्छ ?

हो, तर त्यसलाई प्रवेशभन्दा पनि एकता भन्नुपर्छ । म मात्रै जाने होइन, मसँग पनि नेता/साथीहरू हुनुहुन्छ ।

एकीकृत समाजवादीका नेताहरूले तपाईंलाई प्रवेश गराउने तयारी थालेको बताउनुभएको छ ?

होला, त्यो राम्रो हो । हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले त्यसका लागि दुई-दुईपटक निर्णय नै गरिसकेको छ ।

एकीकृत समाजवादीले प्रवेश भनेको छ, तपाईं पार्टी एकता भन्नुहुन्छ, खास के हो ?

म बुहारी भित्रिए जसरी भित्रिन्नँ, सम्मानजनक रूपमा जाने हो । सबै नेता/साथीहरू जाने हो । म मात्रै जान्नँ । त्यो मैले प्रष्ट रूपमा भनेको पनि छु ।

अनि तपाईं त एमालेमै फर्किने कुरा थियो होइन र ?

एमालेले नलाने रे ! पार्टी एकता नगर्ने रे भन्ने सूचना आयो । त्यसपछि अगाडि बढिएन । म मात्रै गए मात्रै स्वीकार्ने भन्ने कुरा आयो क्यारे !

भनेपछि अब एकीकृत समाजवादी जाने 'कन्फर्म' भयो ?

अब एकीकृत समाजवादीले कहिले र कसरी भित्र्याउँछ, हेरौँ । तर, ढिलो भइरहेको छ । हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले दुई-दुईपटक निर्णय गरिसकेको छ ।

वामदेव गौतम ।

अहिलेसम्मचाहिँ एकीकृत समाजवादीले नभित्र्याएको कि तपाईं नभित्रिनुभएको ?

एकीकृत समाजवादीले नभित्र्याएको हो नि ! मत एकीकृत समाजवादी बनेयता भित्रिने पक्षमै छु नि । तर, उसले भित्र्याउने निर्णय गरेको छैन खै ! अब गर्ला ।

कहिलेसम्म एकता होला त तपाईंहरूको ?

लाग्ला नि केही दिन । उताको केन्द्रीय समितिमा निर्णय भएको छैन होला । निर्णय भएपछि अगाडि बढ्ने होला ।

एकीकृत समाजवादीमा तपाईंको 'पोजिसन' के हुन्छ ?

सम्मानजनक हुनुपर्छ । यसबारे अहिल्यै कुरा भइसकेको छैन ।

तपाईंको माग के हो ?

कुरा गर्नुपर्छ । 

यो पनि पढ्नुहोस्

वामदेव गौतमलाई भित्र्याउँदै एकीकृत समाजवादी

 

प्रकाशित: २ पुस २०८१ २०:०६ मंगलबार

#bamdevgautam