प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएपछि झापा पुगेर आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए। झापाको दमकस्थित व्यापारिक कम्प्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो चीन भ्रमणबाट देशको हितका लागि धेरै कुरा भएको सुनाउँदै चाँडै भारत भ्रमणमा पनि जाने बताएका थिए। ‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट अरू थुप्रै कुरा भएका छन्। मान्छेहरूले पत्याएका छैनन् होला, म केही समयपछि भारत भ्रमणमा पनि जान्छु,’ प्रधानमन्त्री ओलीले भनेका थिए।
प्रधानमन्त्री कार्यालय वा प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको तयारी थालेका छन् वा छैनन भन्ने प्रस्ट छैन। चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी थालेको प्रचार गरिएको छ। प्रधानमन्त्री सचिवालयले भने यसबारे केही बताएको छैन। ‘भारत भ्रमणको विषयमा प्रधानमन्त्रीको सचिवालयले केही भनेको छैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विदेश विभाग पूर्वप्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री स्वयंले भारत भ्रमणमा जाने बताएपछि त्योभन्दा अरू कुनै आधिकारिक धारणा बाहिर आउनुपर्ने आवश्यकता नरहेको बताए। ‘भारत भ्रमणबारे प्रधानमन्त्रीज्यूले नै निकट भविष्यमा जाने भनेर भन्नुभएको छ, त्योभन्दा अर्को आधिकारिक धारणा नै हुन्न,’ डा. भट्टराईले भने। उनका अनुसार अहिलेसम्म भारत भ्रमणको औपचारिक निम्तो आएको छैन।
चीन भ्रमण सिध्याएर स्वदेश फर्केलगत्तै झापा पुगेका ओलीले आफू चाँडै भारत भ्रमणमा जान लागेको बताएका थिए। त्यसलगत्तै प्रधानमन्त्रीको सचिवालयले भारत भ्रमणको तयारी थालेको छ। प्रधानमन्त्रीको सचिवालय र पराष्ट्र मन्त्रालय एकसाथ सक्रिय भएपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर गराउने तयारी छ। तर भारतले निम्तो भने गरेको छैन।
‘भारतले अहिलेसम्म निम्तो दिएको छैन। समय मिलेको खण्डमा नेपालले जनवरीको दोस्रो साता प्रस्ताव गर्ने भनेको हो,’ मन्त्रालय उच्च स्रोतले भन्यो।
यसका लागि परराष्ट्रमन्त्री डा. आरजु देउवा भारत भ्रमणमा जान लागेकी हुन्। उनी पुस ४ गते साँझ नयाँ दिल्ली पुग्ने कार्यक्रम छ। परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट हुने भनिए पनि अझै निश्चित भइसकेको छैन। ‘परराष्ट्रमन्त्री डा. आरजु देउवाले भारतीय समकक्षीसँग भेटघाट गर्ने भनिएको छ तर उहाँको समय मिलिसकेको छैन,’ मन्त्रालय स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले यसपटक भारतभन्दा पहिले चीनबाट भ्रमण गरेका छन्।
चीन भ्रमणबाट प्रधानमन्त्री फर्केपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ। ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि दिल्लीमै छन्।
यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए। चीन जानुअघि पनि उनले आफू फर्केलगत्तै भारत भ्रमणमा जाने अभिव्यक्ति दिएका थिए। परराष्ट्रमन्त्री डा. आरजु देउवा चीन भ्रमणबाट फर्केको पर्सिपल्ट अर्थात् मंसिर २२ गते नेदरल्यान्ड उडेकी थिइन्। उनी त्यतैबाट भारत पुगेर प्रधानमन्त्रीको भ्रमणको मिति तय गरी फर्कने बताइए पनि भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटघाट अनिश्चित बनेसँगै प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुने विषय कमजोर बनेको छ।
‘भारतमा उहाँ तीन दिन बस्नुहुन्छ, १९ तारिख भारत पुग्ने, २० तारिख कार्यक्रममा सहभागी हुने तथा २१ तारिख नेपाल फर्कने कार्यक्रम छ,’ परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले भने। अन्य भेटघाटको कार्यतालिका भने आफूलाई थाहा नभएको पनि उनले बताए।
अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा चुच्चे नक्सा जारी गरेको, संसद्मा ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भन्ने अभिव्यक्ति दिएको जस्ता प्रसंगले भारत सकारात्मक बन्न सकेको छैन। ‘अघिल्लो पटक नै भारत चिढिएको हो। यसपटक चार महिना बितिसक्दा पनि भारतले नेपालका प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको छैन,’ एक कूटनीतिज्ञले भने।
चीन भ्रमणमा पुगेर बिआरआई परियोजना कार्यान्वयन सहमतिपत्रमा हस्ताक्षर भएपछि भने भारत झस्किएको थियो। बिआरआई नेपालमा कार्यान्वयन हुँदा भारत र अमेरिका दुवै त्रसित हुने मुख्य कारण भूरणनीतिक र आर्थिक प्रतिस्पर्धा हो। नेपालमा चीनको पूर्वाधार र रणनीतिक उपस्थितिले भारत दबाबमा पर्छ भने चीन–नेपाल सम्बन्धले भारतको परम्परागत व्यापारिक प्रभाव र सुरक्षा रणनीतिमा चुनौती दिन सक्छ।
प्रकाशित: २ पुस २०८१ ०६:४० मंगलबार