राजनीति

उपसभामुखको आग्रहः नकारात्मक प्रभाव पर्नेगरी समाचार संप्रेषण नगरौं

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नागरिकमा नकारात्मक पार्ने खालका समाचार संप्रेषण नगर्न सञ्चारजगतलाई आग्रह गरेकी छन्।

सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले राज्य सञ्चालनको लागि पत्रकारिताको महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै कसैले पनि राजनीतिक प्रभावमा परेर समाचार लेख्न नहुनेमा जोड दिइन्।

संसदको गरिमा बढाउन संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ थियो।

उनले भनिन्, ‘तपाईंहरुले कस्तो सूचना दिँदा चाँही जनतालाई फरक पर्दैन त्यो कुरा याद गर्नुपर्दछ। हामीले यो राज्यलाई बचाउने र नागरिकलाई नकारात्मक प्रभाव नपर्नेगरि समाचारहरु संप्रेषण गर्नुपर्ने हुन्छ। राज्य संचालनका लागि पत्रकारिताको महत्वपूर्ण भुमिका रहेको छ। अहिले त डिजिटल प्रविधि पाँचौँ अंग पनि आईसक्यो। पत्रकाहरुले राजनीतिक प्रभावमा परेर काइते तरिकाले लेखेको पनि देखिन्छ। त्यसैले यसरी नलेख्न आग्रह गर्दछौं। संसदको गरिमा बढाउनका लागि संसदीय पत्रकारिताको महत्वपूर्ण भुमिका रहन्छ।’

उनले वर्तमान व्यवस्था बचाउँदै मुलुकमा समृद्धि ल्याउनका लागि सबैले एकजुट भएर अगाडि बढ्न जरुरी रहेको बताइन्।

प्रकाशित: १ पुस २०८१ १५:३६ सोमबार