राजनीति

विद्युतीय सवारीसाधन आजको आवश्यकता: यातायातमन्त्री

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे।

उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे। पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउँदै त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको उनको भनाइ थियो।

‘इलेक्ट्रिक भेकल आजको आवश्यकता हो। र माग पनि हो। मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ। हुनतः इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरू उठेका छन्। जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पनि उठेको छ। यसमा हामीले ध्यान दिइरहेका छौं।’ उनले भने।

सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोसिस गरिरहेको बताउँदै मन्त्री दाहालले राज्य र निजी क्षेत्र बिचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ३० मंसिर २०८१ १५:५८ आइतबार