राजनीति

‘स्काउटको विवाद कानूनी रूपमा मसँग सम्बन्धित छैन’

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल स्काउटसँगको विवाद आफ्नो जिम्मेवारीमा नपर्ने बताएका छन्।

नेपाल स्काउट र मन्त्री खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीबीचको विवादले अहिले चर्चा पाएको छ। मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा लिएर लामो समयदेखि सञ्चालन गर्दै आएको थियो। तर कोभिड महामारीको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसकेकाले स्काउटलाई भाडा तिर्न नसकेको उनले स्वीकार गरे।

मन्त्री खड्काले आफू मन्त्री भएपछि नियोजित रूपमा राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले आफ्नो नाम विवादमा जोडिएको आरोप लगाए। उनले भने, ‘म स्काउटको जग्गा लिने कम्पनीमा हुँदा कुनै समस्या थिएन। स्काउटले विद्युत लाइन काट्ने र गेटमा ताल्चा लगाउने जस्ता काम गर्दा विवाद झन् गहिरिएको हो। अहिले नियोजित रूपमा समाचारहरू सार्वजनिक गरेर मलाई मन्त्रीबाट हटाउन खोजिएको छ।’

उनले स्काउटसँग टेन्डर प्रक्रियामार्फत प्रतिस्क्वायर फिट ४७ रुपैयाँ दरले महिनाको २५ लाख रुपैयाँ भाडा तिरेर जग्गा लिएको जानकारी दिए। ‘कोभिडको समयमा सटर बन्द हुँदा भाडा उठाउन नसक्दा ४ करोड रुपैयाँ उठ्न बाँकी रहेको र ३ करोड स्काउटलाई तिर्न बाँकी रहेको हो,’ उनले भने।

मन्त्री खड्काले संसदमा समेत यो विषय प्रवेश पाएको उल्लेख गर्दै सामान्य भाडाको विषय राष्ट्रिय पत्रिकाहरूमा आउनुका पछाडि राजनीतिक उद्देश्य रहेको दाबी गरे।

उनले नियोजित रूपमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको बताउँदै भने, ‘मेरो राम्रा कामहरू देख्न नचाहनेहरूले बदनाम गरेर मन्त्रीबाट हटाउन खोजेका हुन्। यो विषय कानूनी रूपमा मेरो जिम्मेवारीमा पर्दैन।’

विवादबारे थप जानकारी दिँदै उनले स्काउटको ऋणमा पुगेपछि समस्या उत्पन्न भएको र आफू मन्त्री भए पनि यो विषयमा गलत रूपमा समाचार फैलाइएको धारणा राखे।

प्रकाशित: ३० मंसिर २०८१ १५:४९ आइतबार