राजनीति

उपराष्ट्रपतिले भने: काठमाडौं महानगरको सक्रियताबाट जनताले आफ्नै घर आँगनमै सेवा पाए

उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको आभास गराएको बताएका छन्।

तीसौँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताए।

काठमाडौं महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौं महानगर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु भएको बताए।

उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिए।

महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे।

महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न  लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।

उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जानकारी दिइन्।

विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मङ्सिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो।

प्रकाशित: २९ मंसिर २०८१ १५:२३ शनिबार