राजनीति

जनतामा संसद्प्रति विश्वास कायम राख्न कर्मचारीको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनता, सरकार र संसद्को सहकार्यलाई प्रभावकारी तथा संसद्लाई राष्ट्रिय हितका मुद्दामा एकताबद्ध बनाउन र जनतामा संसद्प्रति विश्वास कायम राख्न संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा शुक्रबार आयोजित समारोहमा बोल्दै उनले एकात्मक शासन व्यवस्था रहेको अवस्थामा स्थापना भएको संसद् सेवा आज सङ्घीय शासन प्रणालीअनुसार सञ्चालन गर्दा थुप्रै चुनौती र अप्ठ्यारा देखिएका उल्लेख गर्दै उनले समयानुकूल संसद् सेवाको पुन: संरचना गर्न आवश्यक भएको पनि बताए। 

“यसका लागि विद्यमान कानुनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ”, अध्यक्ष दाहालले भने, “संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन।” संसद्का हरेक गतिविधिमा जनताको सहज पहुँच र सहभागितालाई कसरी बढाउने भन्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ। 

अध्यक्ष दाहालले संसद्का गतिविधिमा जनताको प्रत्यक्ष पहुँच सुनिश्चित गर्न अनलाइनबाट जनताको राय सङ्कलन र प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु उचित हुने तर्क पनि गरेको छ। विधेयक निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको प्रक्रियालाई सहज र द्रुत बनाइ गुणस्तरीय कानुन निर्माणमा धेरै मेहनत गर्न जरुरी रहेको बताउँदै अध्यक्ष दाहालले संसद्को प्रभावकारिताका लागि संसद्‌भित्र अनुसन्धानात्मक प्रणालीलाई बलियो बनाउन संसदीय अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताएका छन्।  

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गर्दै निजामती सेवा ऐन संशोधनका क्रममा संसद् सेवाका कर्मचारीको भावनालाई सम्बोधन गरिने स्पष्ट पारेका छन्।

उनले संविधान कार्यान्वयनमा आवश्यक ऐन कानुनलाई अद्यावधिक गर्न सरकार केन्द्रित भएको जानकारी दिँदै कानून निर्माणमा संसद् र सचिवालयको कर्मचारीको भूमिका थप बढेर गएको उल्लेख गरे। 

उपसभामुख इन्दिरा रानाले जनप्रतिनिधि र संसद् सचिवालयका कर्मचारीबीच अन्योन्याश्रित सम्बन्ध रहेको चर्चा गर्दै दुई पक्षको एकताबद्ध प्रयासबाट मात्रै उल्लेख्य परिणाम हासिल गर्न सकिने बताइन्। राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिएकी छिन्।  

मुख्यसचिव एकनारायण अर्यालले संसद् सेवाका कर्मचारीको मनोबल उच्च राख्न, संसदीय गतिविधिमा बढी जिम्मेवार बनाउन र क्षमता अभिवृद्धिमा सरकार गम्भीर रहेको जनाउँदै निजामती सेवा विधेयकमा संसद्का कर्मचारीको वृत्तिविकासलाई उचित ढङ्गबाट सम्बोधन गरिने विश्वास व्यक्त गरेका छन्। मुख्यसचिव अर्यालका अनुसार कानुन निर्माण, सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै असल शासन कायम गर्न र सरकारलाई खबरदारी गर्न संसद्को महत्वपूर्ण भूमिका रहेको छ।  

संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेलवासेले कर्मचारी मैत्री र संसद् सेवालाई प्रभावकारी बनाउने योजना ल्याउन आग्रह गर्दै डेढ दशकदेखि संशोधन हुन नसकेका कानुन र छरिएर रहेका ऐनलाई एकीकृत गरी सेवामैत्री कानुन बनाउन सुझाव दिए। 

संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले संसद् सेवा दिवसका अवसरमा सप्ताहव्यापीरूपमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिए। यसवर्ष संसद् सेवा दिवसको मुख्य नारा ‘लगनशीलता र कर्तव्यनिष्ठता: संसद् सेवाको प्रतिष्ठा’ तय गरिएको थियो। कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष दाहालले संयुक्त रूपमा सचिवालयले प्रकाशन गरेको स्मारिका विमोचन गरेका छन्।  

कार्यक्रममा उपसचिव ओमबहादुर कार्कीलाई सर्वोत्कृष्ट, कम्प्युटर प्रोगामर करणबहादुर भाट उत्कृष्ट तथा सवारी चालक शङ्कर भण्डारी र माली बिन्दा भट्टराईलाई संसद् सेवा पुरस्कार प्रदान गरिएको थियो। 

समारोहमा संसद् सेवामा २५ वर्ष निरन्तर सेवा गर्नुभएका उपसचिवद्वय उदयकुमार भण्डारी र दशरथ धमला, प्राविधिक अधिकृत केशवराज भट्टराई, शाखा अधिकृत नारायणबहादुर कार्की, ओभरसियर निलम शाह र हलुका सवारी चालक (पाँचौँ) सानुकाजी महर्जनलाई दीर्घसेवा पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। सो अवसरमा सेवा दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ट भएकालाई सम्मान गरिएको थियो। रासस

प्रकाशित: २८ मंसिर २०८१ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App