राजनीति

महासंघ निर्वाचन किचलो : विष्टसहित १३ जनालाई प्रेस युनियनको कारबाही

मंसिर २८ मा हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेकाहरूलाई प्रेस युनियनले कारबाही गरेको छ ।

केन्द्रको निर्णयविपरीत बागी उम्मेदवारी दिएका रमेश विष्टसहित १३ जनालाई युनियनले बुधबार कारबाही गरेको हो । उनीहरूलाई चार वर्षका लागि कारबाही गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक प्रेम केसीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

'नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा युनियनको संस्थागत निर्णयविपरीत उम्मेदवारी दर्ता गरेका सबै उम्मेदवारलाई तत्काल सार्वजनिक विज्ञप्तिमार्फत प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गर्न निर्देश गरिन्छ,' विज्ञप्तिमा भनिएको छ ।

यदि उम्मेदवारी फिर्ता नगरेमा अनुशासन उल्लङ्घनको कारबाही गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ । 'उम्मेदवारी दर्ता गरेका तपसिलसहितका नेपाल प्रेस युनियनका सदस्यलाई आजकै मितिदेखि लागू हुनेगरी साधारण सदस्य समेतबाट चार वर्षका लागि प्रेस युनियनबाट निष्कासन गरिएको छ,' त्यहाँ भनिएको छ ।

पत्रकार महासंघको निर्वाचनमा कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारी नेपाल गठबन्धन गरी निर्वाचनमा होमिएका छन् । तर, गठबन्धनको निर्णयविपरीत युनियनबाट रमेश विष्टले महासंघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित: २६ मंसिर २०८१ १८:०८ बुधबार

#rameshbishta