राजनीति

पर्सामा रविको बयान सकियो, फेरि पोखरा लगिने

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनासम्बन्धी मुद्दामा बयानका लागि सोमबार वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुङ्गेलले मंगलबार साँझ ४ बजे बयान लिने कार्य सकिएको जानकारी दिए। उनका अनुसार सम्भवतः रविलाई भोली पोखरा फिर्ता पठाइनेछ।

‘उहाँलाई बिहान ९ बजे सरकारी वकिलको कार्यालय लगिएको थियो। दिउँसो एक बजेसम्म भलाकुसारी भयो। त्यसपछि ४ बजेसम्म बयान लिइएको थियो। सम्भवतः उहाँ भोलि बिहान पोखरा लगिनेछ।’ एसपी ढुङ्गेलले नागरिकन्यूजसँग भने।

लामिछानेले वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा सामना गरिरहेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहेका बेला सहकारीको ८ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा गरिएको छानबिन समितिले उल्लेख गरेको छ। ती रकम विभिन्न समयमा सानो पाइला सहकारीबाट सात पटक सारिएको जनाइएको छ।

लामिछानेलाई जिल्ला अदालत पर्साले गत बुधबार पक्राउ गर्न अनुमति दिएको थियो। सोमबार उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं, त्यसपछि सिमरा र अन्त्यमा स्थलमार्गबाट वीरगन्ज ल्याइएको थियो।

सानो पाइला सहकारीका १ सय ७९ बचतकर्ताले एक वर्षअघि सहकारी सञ्चालक समिति, लेखा समिति र कर्मचारीविरुद्ध उजुरी दिएका थिए।

अनुसन्धानपछि सहकारीकी पूर्व उपाध्यक्ष नेहा पौडेललाई १ करोड १० लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो। त्यस्तै, कर्मचारी राधेचन्द्र यादव ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी र संरक्षक गीतेन्द्र बाबु राईलगायत ११ जना फरार छन् भने कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा रहेका छन्।

प्रकाशित: २५ मंसिर २०८१ १९:५७ मंगलबार