राजनीति

भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं– भारत सरकारले भारतीय दलित समुदायका १२ जनाको हत्या गरेको विरोधमा नेपालका दलितहरुले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरुले भारतमा जारी दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्। 

गत २० मार्चमा भारतीय सर्वाेच्च अदालतले अनुसुचित जाति र अनुसुचित जनजातिमाथि आक्रमण रोकथाम अधिनियम १९८९ मा परेको संशोधनमाथि गरेको फैसलाले भारतमा रहेका उत्पीडित जातिमाथि अन्याय हुने भन्दै आन्दोलन सुरु भएको थियो। 
आन्दोलनका क्रममा प्रहरीले दमन गरी १२ जनाको ज्यान लिएको र १ सय २७ जनालाई व्यक्तिगत तथा सार्वजनिक मुद्दा दायर गरेको विरोधमा नेपालका दलितहरुले बुधबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि ४५ मिनेट धर्ना दिएका हुन्।

साथै उनीहरुले जातीय विभेदसम्बन्धी अन्तर्राष्ट्रिय ऐन तथा कानूनको सम्मान गर्दै हालै सर्वोच्च अदालतको आदेशद्वारा संशोधन गरिएको ‘अनुसूचित जाति–जनजाति अत्याचार निवारण अधिनियम–१९८९’ मा  आएको प्रतिगामी संशोधन तत्काल फिर्ताको माग पनि गरेका छन्।

अन्तरपार्टी दलित महिला सञ्जाल र एकृकीत उत्पीडित मोर्चाको अगुवाईमा भएको सो धर्नापछि भारतीय दूतावासमा पक्राउ गरिएकाहरुको रिहाई, घाइतेहरुको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तीको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन्। 

धर्ना कार्यक्रम सांसद लक्ष्मी परियार, सञ्जालकी नेतृ धनकुमारी सुनार, गौरा नेपाली, एकृकीत उत्पीडित मोर्चाका अध्यक्ष हस्तबहादुर विक, नन्द घतानी लागयतले भारत जस्तो लोकतान्त्रिक मुलुकले दलितहरुमाथि अन्याय गर्न नहुने बताए। 

प्रकाशित: २८ चैत्र २०७४ १४:०८ बुधबार

भारतीय दूतावास अगाडि प्रदर्शन