राजनीति

बिआरआईमा गगनको प्रतिरक्षा: ढुक्क रहनुस् आधारभूत कुरामा सम्झौता गरेनौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चीन सरकार र नेपाल सरकार बिच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई) फ्रेमवर्क सम्झौताको प्रतिरक्षा गर्दै त्यो सम्झौता नेपालको आधारभूत हितमा भएको बताएका छन् । 

कांग्रेसको कोसी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

‘यो पटक चीनले तर्फबाट प्रस्ताव गरेको बिआरआई अगाडि बढाउँदै गर्दा बिआरआई इम्लिमेन्टेसन प्लान भनेर ठुलो छाता सम्झौता गरिएको योजना थियो,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस पार्टीका तर्फबाट हामीले विनम्रतापूर्वक भन्यौंः त्यो प्रस्तावभित्र थुप्रै द्विविधाहरू छन् । द्विविधाहरू भएकाले यो प्रस्ताव अगाडि बढाउनु हुँदैन ।’ 

चीनको प्रस्ताव आफूहरूले नेपाल र चीन सम्बन्धको हितमा नभएको कुरा प्रस्ट राखेको बताए । उनले भने, ‘नेपालको हितमा छैन, नेपाल र चीन सम्बन्धको हितमा पनि छैन । हामीले मनेनौं ।’ 

त्यसपछि नेपालले आफ्नो प्रस्ताव राखेको उनी बताउँछन् । ‘हामी चाहन्थ्यौँ नेपालले चाहेको जस्तै मात्रै सम्झौता होस् । स्वाभाविक । तर दुइटा देशका बिचमा छलफल हुँदै गर्दा समझदारी यसरी नै हुन्छ,’ उनले भने । 

‘चीनले भन्यो– मैले भनेअनुसार नै बिआरआई इम्लिमेन्टेसन प्लानमा हस्ताक्षर हुनुपर्छ । नेपालले हाम्रो तर्फबाट आफ्नो दस्ताबेज अगाडि सार्‍यौं,’ महामन्त्री थापाले भने, ‘हामीले उसको भनेको मानेनौँ, उसले पनि हामीले भनेको केही कुरा स्वीकार गरेन ।’

तर, चीन र नेपालबिच भएको सम्झौतामा नेपालले भन्दै आएको आधारभूत कुरामा सम्झौता नभएको उनले बताए । उनले भने, ‘तर स्वीकार नगर्दै गर्दा हामीले हाम्रो आधारभूत कुरालाई सम्झौता गर्‍यौं कि गरेनौँ ? ढुक्क रहनुस् हामीले गरेनौँ । कांग्रेसका साथीहरूलाई मेरो आग्रह छ, कांग्रेस यसमा प्रस्ट छ ।’ 

अहिले कांग्रेस देश सम्हाल्ने अवस्थामा रहेको बताउँदै महामन्त्री थापाले आजको दिनमा कुनै पनि देशबाट ऋण लिएर आफ्नो परियोजना बनाउन सक्ने अवस्थामा नरहेको बताए । 

प्रकाशित: २२ मंसिर २०८१ १५:२६ शनिबार

#Gagan thapa #BRI (Belt and Road Initiative)