राजनीति

संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखर

के गर्छन् देउवा ?

नेपाली कांग्रेसको संस्थापनइतर गुटका दुई प्रमुख नेताहरू डा. शेखर कोइराला र गगन थापाको दूरी बढेको केही समय बित्यो । अहिले उनीहरूले आफूअनुकूल छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुने र भेला गर्ने गरिरहेका छन् ।

त्यसो त शेखर-गगन एउटै गुटमा उभिएको १४औं महाधिवेशनयता हो । त्यसभन्दा अगाडि गगन कृष्ण सिटौलाको गुटमा थिए भने शेखर आफैँ छुट्टै छँदै थिए ।

महाधिवेशनको २ वर्षसम्म संस्थापनइतर गुटमा रहेर सँगै गतिविधि गरेका शेखर-गगन अहिले भने छुट्टाछुट्टै गतिविधिमा उत्रिएका छन् । दुबैको तयारी छ— १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने ।

एउटै गुटमा रहेका दुबैले सभापतिको तयारी गरेपछि एकअर्काको साथ छाडेका छन् । संस्थापनइतर गुटका नेताहरूले भने उनीहरू छुट्टिन नहुने बताइरहेका छन् । 

संस्थापन बन्ने दाउमा गगन

संस्थापनइतर गुट छाडेका गगन भने आफैँ संस्थापन बन्ने दाउमा छन् । त्यसो त शेरबहादुर देउवा लगातार दुईपटक सभापति भइसकेका छन् । विधानत: अब उनी पुन: सभापतिको उम्मेदवार बन्न मिल्दैन ।

यही बुझेर गगनले देउवाको स्थानमा पुग्न कोसिस गरिरहेका छन् । गगन निकट एक नेताले नागरिकसँग भन्छन्, 'उहाँ (गगन थापा) आफैँ संस्थापन बन्ने प्रयासमा हुनुहुन्छ । फेरि महामन्त्री भनेको संस्थापन नै हो ।'

उसो त अहिले गगन देउवासँग नजिकिएका पनि छन् । उनीहरूबीच निरन्तर भेटघाट भइरहेका छन् । उनीहरूबीच पार्टीको भावी नेतृत्व, पार्टी जीवनलगायतका विषयमा निरन्तर छलफल हुने ती नेता बताउँछन् ।

'उहाँहरू सभापति र महामन्त्री हो । उहाँहरूबीच निरन्तर भेट भइरहन्छ । भेटमा भावी नेतृत्व र पार्टी जीवनका विविध विषयमा कुराकानी हुन्छ । पछिल्लो समय त शेरबहादुर दाइले गगन दाइलाई पार्टीका तर्फबाट राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई लिएर धन्यवाद दिने गर्नुभएको छ,' ती नेताले भने ।

अलि अगाडि शेखरले पनि यही प्रयास गरेका थिए । आफैँ संस्थापन बन्ने शेखरको प्रयासमा देउवाले 'ग्रीन सिग्नल' नदिएपछि उनी आफ्नै तवरले जिल्ला दौडाहामा निस्किएका छन् । उनले गत मङ्गलबार मात्रै विराटनगरमा जिल्ला भेला गरेका थिए । त्यहाँ दर्जनभन्दा बढी जिल्लाका सभापतिदेखि केन्द्रीय सदस्य र सांसदसमेत थिए ।

विराटनगरमा शेखर कोइरालाको भेला ।

भेलामा शेखरले १५औं महाधिवेशनमा आफ्नो पक्षमा निर्भीक भएर उभिन आह्वान गर्दै राजनीतिक सुरक्षा आफूले दिने वचनबद्धता गरेका थिए । भेलामा सहभागी नेता गुरुराज घिमिरेले नागरिकसँग भने, 'शेखर दाइले १५औं महाधिवेशनकै तयारीस्वरूप भेला राख्नुभएको थियो । उहाँले यसअघि नै आफू उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । उहाँले कांग्रेसलाई कस्तो बनाउने भनेर सोचिसकेको बताउनुभएको छ ।'

जसै शेखरले आक्रामक प्रचार सुरु गरिसकेका छन् । उनी विभिन्न जिल्ला पुगेर त्यहाँको अवस्था बुझिरहेका छन् । १४औं महाधिवेशन दोस्रो चरणमा गएर सभापति हारेका उनी १५औं महाधिवेशनमा निर्वाचित हुन चाहन्छन् । तर, १४औं महाधिवेशनमा सँगै रहेका गगन छुटिँदा उनलाई सकस हुनेछ ।

शेखर-गगनलाई छुट्टिन नदिने नेताहरूको प्रयास

संस्थापनइतर गुटका नेताहरूले भने शेखर र गगनलाई सँगै उभिन दबाब दिइरहेका छन् ।

यसका लागि गगनका ससुरासमेत रहेका नेता अर्जुनरसिंह केसी, बलबहादुर केसी, गुरुराज घिमिरेलगायतका नेताहरू लागेका छन् । नेता गुरुराज घिमिरेले भने, 'उहाँहरूलाई सँगै उभ्याउनका लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो उहाँहरूले मान्नु पनि पर्छ । उहाँहरू छुट्नुहुन्न । सँगै रहनुपर्छ ।'

१४औं महाधिवेशनमा सँगै रहने तर, १५औं महाधिवेशनमा छुटिँदा पार्टी हितका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि छुटिएको हुने अर्थ्याइ शेखर निकट नेताहरूको छ । शेखर निकट एक नेताले भने, 'मेरो विश्वास के हो भने गगनजी पनि हामीसँग रहनुहुन्छ । यदि उहाँ यहाँसम्म आएर संस्थापनतिर जानुभयो भने त्यो स्वार्थ सिद्धिका लागि हुन्छ ।'

हुन त कांग्रेसका महाधिवेशनहरूमा प्राय: नयाँ गुटहरू बन्ने गरेका छन् । १५औं महाधिवेशनमा पनि यो सम्भावना रहेने गगन निकटस्थ नेताहरूको छ । नाम उल्लेख नगर्ने सर्तमा गगन निकट एक नेताले भने, '१५औं महाधिवेशनमा पनि नयाँ गुट बन्न सक्छ । यो सम्भावना कायमै रहन्छ ।'

के गर्छन् देउवा ?

विधानत: नै सभापति दोहोरिन नमिल्ने भएपछि देउवालाई भने सुख छ । उनलाई छ त केबल चुनावी सरकार नेतृत्वको लोभ । दोस्रो ठूलो दल नेकपा (एमाले)सँग गत असार १७ गते मध्यराति सत्ता गठबन्धन बनाएका देउवालाई अन्तिमपटक प्रधानमन्त्री चलाउने आकाङ्क्षा छ ।

अहिले देउवासँग थप आकाङ्क्षाहरू नरहेको उनी निकट नेताहरू बताउँछन् । उनी निकट नेता मीन विश्वकर्मा भन्छन्, 'शेरबहादुर दाइ अब फेरि सभापति उठ्नुहुन्न । उहाँमा धेरै आकाङ्क्षा पनि छैन । बेलैमा अधिवेशन गराउनुहुन्छ ।'

शेरबहादुर देउवा ।

देउवा आफू उठ्न नमिले पनि आफ्नो उत्तराधिकारी को बनाउँछन्, त्यो भने महत्त्वपूर्ण हुनेवाला छ । किन पनि भने उनले जसलाई समर्थन जनाउँछन्, उही कांग्रेसको भावी सभापति हुने निश्चितप्राय: छ ।

अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै छैनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत, पूर्णबहादुर खड्कालगायत छन् । र, प्रकारान्तरले देउवाले समर्थन गर्ने पनि यिनीहरूमध्ये कै कुनै हुन् ।

सिधा रूपमा हेर्दा वर्तमान उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई देउवाले समर्थन जनाउन सक्छन् । तर,पछिसम्म जाँदा अवस्था के बन्छ, त्यो अहिल्यै आकलन गर्न सकिँदैन ।

जे होस्, १५औं महाधिवेशनमा शेखर र गगन सभापतिका मुख्य प्रतिस्पर्धी बने भने पनि त्यो अन्यथा भने नहोला ।

प्रकाशित: २० मंसिर २०८१ २०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App