राजनीति

पुनलाई उपाध्यक्ष बनाउँदै माओवादी, शेरचन पनि पार्टीमा फर्किँदै ?

<br>

नन्दबहादुर पुन र अमिक शेरचन ।

नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

पार्टी सदस्यता परित्याग गरी दुई कार्यकाल उपराष्ट्रपति बनेका पुनलाई पार्टीले पुन: सक्रिय राजनीतिमा फर्काउन लागेको हो ।

उनलाई उपाध्यक्ष बनाउने तयारी भएको माओवादीका एक नेताले बताएका छन् । 'तर, त्यो मूलत: उहाँकै चाहनामा हो । उहाँले आफ्नो जिम्मेवारी खोज्नुभएको छ । पछिल्ला बैठकहरूमा उहाँ सहभागी हुँदै आउनुभएको छ,' ती नेताले भने ।

पुन बिहीबार (आज)को पदाधिकारी बैठकमा पनि सहभागी भएका थिए । उनी यसअघि गत कात्तिक २६ गते बसेको स्थायी समिति बैठकमा पनि सहभागी भएका थिए ।

त्यो बैठकमा उनले आफू पार्टीकै मान्छे भएको बताउँदै 'मेरो जिम्मेवारी के हो' भनेर सोधेका थिए । बुधबार मात्रै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू रातो मान्छे भएर उभिन तयार रहेको समेत बताएका थिए । 

माओवादी सचिव दीनानाथ शर्माका अनुसार पुनकै चाहनामा पार्टीले छलफल अघि बढाएको हो । 'उहाँले सक्रिय राजनीतिमा चाहना राख्नुभएको छ । उहाँले जिम्मेवारीसमेत खोज्न थाल्नुभएको छ । यस विषयमा छलफल भइरहेको छ,' सचिव शर्माले भने ।

पुनलाई उपाध्यक्ष बनाउनेबारे भने सचिव शर्माले बताउन चाहेनन् । 'पदको विषयमा भने छलफल भएको छैन । अब बस्ने स्थायी समिति बैठक र केन्द्रीय कमिटी बैठकहरूले टुङ्ग्याउलान्,' उनले भने ।

यस्तै लुम्बिनी प्रदेशका पूर्वप्रमुख अमिक शेरचनलाई पनि पुन: पार्टीमा फर्काउने माओवादीको तयारी छ । शेरचन अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगको लगातार सम्पर्कमा रहेको नेताहरूले बताएका छन् ।

उनलाई पनि उपाध्यक्ष नै बनाउने चर्चा बाहिर चलेको छ । तर, त्यसबारे केही छलफल नभएको सचिव दीनानाथ शर्मा बताउँछन् । यद्यपि, उनले पनि सक्रिय राजनीतिमा फर्किने चाहना व्यक्त गरेको नेताहरूले बताएका छन् ।

प्रकाशित: २० मंसिर २०८१ १५:५९ बिहीबार

#nandabahadurpun