राजनीति

नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर

नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । यसअघि बिआरआई फ्रेमवर्कमा हस्ताक्षर नहुने चर्चा चलिरहेको थियो ।  

नेपाल सरकार र चीन सरकारका अधिकारीहरू बीच सहमती जुटेपछि  दुई देशका परराष्ट्र सचिवले यसै पटक फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । 

बेइजिङमा बुधबार दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरे । 

सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच बिआरआई ऋणमा नभई अनुदानमा मात्रै लिने समझदारी थियो । चीनले भने अनुदान(ग्रान्ट) शब्दमा सहमत नभएको समाचार बाहिरिएका थिए । यस्तोमा सहयता(एड) शब्दको मध्यमार्गी बाटोका विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।  

अहिले हस्ताक्षर भएको फ्रेमवर्कको आधिकारिक दस्तावेज भने सार्वजनिक भइसकेको छैन ।  

प्रकाशित: १९ मंसिर २०८१ १३:१४ बुधबार

#BRI (Belt and Road Initiative)