राजनीति

पालिका सभापतिलाई शेखरले भने: भेलामा आए भनी नडराउनु, म संरक्षण गर्छु

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्।

मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय पालिका सभापतिको भेलालाई सम्बोधन गर्दै डा शेखर कोइरालाले दुई ठूला पार्टीको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन्।

डा कोइरालाले संविधानमा नमिलेका विषय मिलाउने, मुलुकमा सुशासन कायम गर्ने र जनतालाई आशा जगाउने गरी आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्य राखेर वर्तमान गठबन्धनको सरकार बनेको स्पष्ट पारे। डा कोइरालाले जे उद्देश्य राखेर सरकार गठन गरिएको हो त्यो उद्देश्य प्राप्तिका लागि सरकारले काम गरिरहेको नदेखिएको टिप्पणी गरे।

डा कोइरालाले सरकार बनेको ४ महिनामा संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबिचमा छलफलसमेत सुरु नभएको बताए। ‘सरकार बनेको चार महिना बितिसके पनि अहिलेसम्म संविधान संशोधनका विषयमा सत्तारुढ दलहरूकै बिचमा छलफल सुरू भएको छैन’ कोइरालाले भने‘संविधान संशोधन जस्तो संवेदनशील विषयमा दुई दलबिच मात्रै नभई अन्य दलहरूसँग समेत छलफल गरेर सहमति कायम गर्नु आवश्यक हुन्छ। तर, अहिलेसम्म संविधान संशोधनको विषय अघि नबढ्नुले दुई दलबिचको सहमति कार्यान्वयनमा  आशंका उत्पन्न गरेको छ।’

डा कोइरालाले कोशी प्रदेश स्तरीय सभापतिहरूको प्रशिक्षणमा प्रदेशका १३७ पालिका मध्ये ११३ पालिकाका सभापति उपस्थित रहेकाले प्रशिक्षणमा सिकेका विषय पालिकामा कार्यान्वयन गर्न र गाउँ तहसम्म पु¥याउन आग्रह गरे । कोइरालाले साना तिना विषयमा कांग्रेस बरालिन नहुने बताए। उनले क्रियाशील सदस्य नवीकरण नभइरहेको अवस्थामा निर्धारित समयमै महाअधिवेशन हुनेमा आशंका गरे। कोइरालाले समयमै महाअधिवेशन गराउन सबै तहबाट पहल आवश्यक रहेको बताए। डा कोइरालाले भेलामा उपस्थित हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोच्न सहभागी सभापतिहरूलाई आग्रह गरे। उनले भने,‘भेलामा सहभागी हुँदा कुनै समस्या आइपर्ला भन्ने नसोची निर्धक्क भएर घर फर्किन आग्रह गर्दछु। तपाईँहरूको संरक्षण म गर्दछु।’

पूर्व मन्त्री डा मिनेन्द्र रिजालले कटुता र तिक्तताले पार्टी बलियो नहुने बताए। उनले लोकतन्त्रमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धा रोक्ने काम गर्न नहुने धारणा राखे। डा रिजालले कोशी प्रदेशका पालिका सभापतिको भेला रोक्न केन्द्रीय समितिले पठाएको पत्रलाई लक्षित गर्दै भने‘आन्तरिक प्रतिस्पर्धालाई ध्यान नदिएर विज्ञप्ति मार्फत हल्ला गर्नु उचित हैन।’

उनले पार्टी भित्र कटुता र विभाजनको सन्देश दिन खोज्नेहरू होसियार हुन चेतावनी पनि दिए। कांग्रेस नेता गुरुराज घिमिरेले कांग्रेसको विधानको हबला दिएर पार्टीका पालिका स्तरीय समितिहरूले गरेको कार्यक्रमलाई अवरोध गर्न खोज्नु दुर्भाग्य भएको बताए। उनले कांग्रेसको विधानमा सङ्गठनलाई चलायमान बनाउन तल्ला तहहरूले कुनै कार्यक्रम गर्न नपाउने भन्ने उल्लेख नभएको दाबी गरे। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले विधान विपरीत केन्द्रीय समितिले चिठी पठाएर चिठी आतंक मच्चाएको आरोप लगाए। उनले चिठी पठाएर तर्साउन नखोज्न चेतावनीसमेत दिए। 

प्रकाशित: १८ मंसिर २०८१ १८:२७ मंगलबार