राजनीति

पूर्वमन्त्री अधिकारीलाई अदालती परीक्षणबिनै उन्मुक्ति

जापानमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीले उन्मुक्ति पाएको विषयमा यतिबेला चर्को आलोचना भइरहेको छ। उनीविरुद्धको मुद्दा अदालतमा परीक्षण हुन नपाउँदै सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको थियो। कात्तिक ११ गते सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै जापान पुगेका उनलाई जापान प्रहरीले फिर्ता पठाएको थियो।

अधिकारी जापान छिरेका भए उक्त घटना बाहिर आउँथ्यो या आउँदैनथ्यो भन्ने ख्यालै नगरी सरकारी वकिल कार्यालयले मुद्दा अदालतमा पठाउन चाहेन। ‘प्रहरीले मुद्दा चलाउने प्रतिवेदन दियो, सरकारी वकिल कार्यालयले उन्मुक्ति दियो। उनी निर्दोष देखिए पनि अदालतसम्म मुद्दा दायर भएको भए त्यसको एउटा अर्थ रहन्थ्यो तर सरकारी वकिल कार्यालयले छाडिदिँदा प्रहरीले गरेको अनुसन्धानमाथि समेत प्रश्न उठाउने बाटो बनेको छ,’ एक सरकारी वकिलले भने। पूर्वमन्त्री अधिकारी मानव बेचबिखनमा संलग्न रहेको प्रमाण नदेखिएको बताइए पनि र बिचौलियाकै योजनामा फसेर जापान पुगेको भनिए पनि निर्दाेषिताको प्रमाण दिने निकाय अदालत मात्रै भएको उनले बताए।

काठमाडौंबाट तीन युवालाई लिएर एउटै जहाजमा जापान उडेका अधिकारी ‘डिपोर्ट’ भएर फर्केका थिए। सो प्रकरणमा पक्राउ परेका सबैलाई मुद्दा चलाइएको थियो। तर उनलाई मात्रै उन्मुक्ति दिएको विषयमा सर्वत्र आलोचना भएको हो। बिचौलियालाई रकम बुझाएर जापान गएका तीन जना युवालाई मानव बेचबिखन र लिखत किर्ते मुद्दा चलाइएको थियो।

मन्त्री अधिकारीबाहेक ११ जनालाई प्रतिवादी बनाइएको थियो। यो विषयमा अहिले काठमाडौं जिल्ला अदालतले तीन जनालाई पुर्पक्ष थुनामा पठाउने आदेश गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले उनीहरूलाई पुर्पक्ष थुनामा पठाउने आदेश दिएको हो।

पक्राउ परेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डे, नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवारलाई थुनामा पठाउने आदेश गरिएको हो। त्यस्तै पक्राउ परेका तीन जनालाई धरौटीमा र दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिइएको छ।

पूर्वमन्त्री अधिकारीलाई प्रहरीले कात्तिक २५ गते विराटनगरमा पक्रेर काठमाडौं ल्याएको थियो। अधिकारीसहित खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए।

सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले उनलाई मुद्दा चलाइहाल्नुपर्ने अवस्था नदेखिएकाले छाडिएको बताए। उनले प्रमाणले पुगे फेरि अनुसन्धानको दायरामा आउन सक्ने दाबी उनले गरे। उनका अनुसार जापानको नारिता विमानस्थलबाट घटनाका सम्बन्धमा प्रहरीलाई जानकारी दिइएको, मन्त्री अधिकारीले विमानस्थलबाट फर्किनुअघि नेपाल प्रहरीको विशेष ब्युरोका प्रमुखसमेत रहेका डिआइजी राजन अधिकारी र कोसीका प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङलाई यसबारे जानकारी गराउँदै म्यासेज गरेको, डिआइजी अधिकारी र उनका बीचमा लामो संवाद भएको, अधिकारीसँगै जापान पुगेका तीन युवकलाई जापान सरकारले नै प्रवेश निषेध गरेर फिर्ता गरिदिएको तर मन्त्री अधिकारीचाहिँ आफैं फिर्ता भई आएको लगायतका आधारमा उनलाई उन्मुक्ति दिइएको पनि सहन्यायाधिवक्ता श्रेष्ठले जानकारी दिए।

सरकारी वकिलको कार्यालयले ‘वस्तुनिष्ठ प्रमाण नभेटिएको’ भन्दै पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको थियो। तर प्रहरीले उनीमाथि आशंका गर्ने आधारसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई दिएको थियो।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनलाई मतियारका रूपमा पनि प्रस्तुत गर्न सकिने आधार रहेको बताए। सरकारी वकिल कार्यालयले पनि उनलाई शक्ति केन्द्रको दबाबमा उन्मुक्ति दिएको स्रोतको दाबी छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार पूर्वमन्त्री अधिकारीको वाट्सएपबाट योगराज गौतमलाई जनक राईको नक्कली परिचयपत्रको फोटो पठाइएको भेटिएको थियो। मन्त्री अधिकारीले पनि योगराजले नै आफूलाई जापान जाने प्रस्ताव गरेको बयानमा उल्लेख गरेका छन्। आयोजकले खर्च बेहोर्ने भएपछि सहर्ष प्रस्ताव स्विकारेको बयान अधिकारीले प्रहरीलाई दिएका छन्। यो विषय सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको प्रतिवेदनमा पनि उल्लेख छ। यसअघि पनि आयोजककै खर्चमा आफू विदेश जाने गरेको अधिकारीले खुलाएको अभियोगपत्रमा उल्लेख छ।

शक्तिशाली व्यक्तिहरू अनुसन्धानको दायरामा आए पनि जोगिने गरेका छन्। यसमा पूर्वमन्त्री अधिकारी पनि परेका छन्। जापान उड्नुभन्दा अघिल्लो दिन कात्तिक १२ गते अधिकारीलाई मुख्यमन्त्री हिक्मत कार्कीले विदेशयात्राका लागि संघीय सरकारले निर्णय गरेको हुनुपर्ने बताएका थिए। तर उनी हतारिएर बिचौलियाको खर्चमै जापान उडेका थिए। जापानबाट फिर्ता भएपछि अधिकारीले कसैलाई नचिन्ने बताएका थिए, जबकि उनले काठमाडौंका बिचौलियाहरूसँग भेटघाट गरेको तस्बिर सार्वजनिक भइसकेको थियो।

पूर्वमन्त्री अधिकारीको बयान

केही समयअघि मलाई मेरा छिमेकी रतुवामाई नगरपालिका स्थायी घर भएका पुराना साथी गोपाल भन्ने योगराज गौतमले फोन गरी जापानमा एउटा राम्रो कार्यक्रम आयोजना हुँदैछ, आयोजककै खर्चमा जाने गरी पठाइदिन्छु भने। मैले यसभन्दा अगाडि पनि वल्र्ड युथ फेडरेसनको आयोजनामा दक्षिण अफ्रिकाको जोहनेसबर्गमा भएको विश्व युवा सम्मेलनमा भाग लिइसकेको छु।

यस्तै गरी वल्र्ड पिस काउन्सिलको आयोजनामा फिलिपिन्स, श्रीलंका समेतमा भएका कार्यक्रममा म सहभागी भइसकेको छु। त्यसैगरी इन्टरनेसनल डेमोक्रेटिक लयर्स एसोसिएसनको आयोजनमा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सम्मेलन तथा अमेरिकाको लसभेगासमा लायन्स इनटरनेसनलको कार्यक्रममा समेत भाग लिइसकेको छु।

 लायन्स इन्टरनेसनलको कार्यक्रममा बाहेक अन्य कार्यक्रमहरूमा भाग लिन जाँदा आयोजकले नै सबै खर्च बेहोरेका हुँदा जापानमा हुने भनिएको कार्यक्रममा समेत मलाई आयोजकले नै सबै खर्च बेहोर्ने भनी गौतमल भनेकाले म सोहीअनुसार मैले आयोजककै खर्चमा जाने हो भने हुन्छ भनेको थिएँ। सो कुराकानी भएको केही दिनपछि गौतमले मेरो राहदानी मागेकाले दिएको थिएँ। उनले राहदानी लगेपछि कसलाई दिए र मेरो राहदानीमा जापानको भिसा लागेको भन्ने कुरा मलाई थाहा पनि भएन।

मिति २०८१/०७/१० गते मलाई गौतमले फोन गरी तपाईंको जापानको फ्लाइट भोलि बेलुकी ९ बजेको समयमा छ, टिकेट मैले हिजो नै ह्वाट्सएमबाट पठाइदिएको छु भनी खबर आयो। मैले उनलाई कार्यक्रमसम्बन्धी सम्पूर्ण कागजातहरू पठाइदिनू भन्दा हुन्छ, हुन्छ भन्दै आलटाल गरे, पठाएनन्। मिति २०८१/०७/११ गते ५ बजेको समयमा मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको सम्पूर्ण कागजातसमेत मलाई गौतमसँग आएका महेश पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको बाहिर रहेको कान्तिपुर क्याफेमा भेट गरिदिएका हुन्।

सोही समयमा मात्र मैले महेश पाण्डे भन्ने व्यक्तिलाई देखेको र भेटेको हुँ। सोही बेलामा मेरो अंगरक्षकलाई फोटो खिच्न लगाएको थिएँ। सो फोटो पनि मैले प्रहरीलाई तत्कालै पठाइसकेको छु। महेश पाण्डेले मलाई सबै कागजात यसैमा छ हेर्नू भनिदिएपछि मैले ती कागजातहरू आफ्नो झोलामा राखी अन्तर्राष्ट्रिय विमानस्थलभित्र प्रवेश गरी जापानका लागि क्याथे प्यासिफिक विमानबाट जापानतर्फ प्रस्थान गरेको हुँ।

जापानका लागि फ्लाइटबाट हिँडेपछि हङकङमा ट्रान्जिट परेकाले म सोही ट्रान्जिटमा बसिरहेको समयमा मलाई हाल पक्राउ परेका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पासमेत मलाई भेट्न आई हामीसमेत हजुरसँगै सोही कार्यक्रममा जान हिँडेको भनेपछि मलाई शंका लागेर हङकङबाट जापानका लागि हिँडेपछि नारिता विमानस्थलमा झरी इमिग्रेसनमा लाइनमा बसिरहेको अवस्थामा कञ्चन देवकोटा, जनक राई र दावा शेर्पा समेतले हामीलाई समेत सँगै लानू भन्दा मैले म तपाईहरूलाई चिन्दिनँ म एक्लै आएको हुँ भन्दा उनीहरूले कसरी चिन्नुहुन्न, हामी तपाईकै कर्मचारी हौं भनी जनक राईले म मन्त्री रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर्मचारी परिचय पत्रसमेत देखाएपछि मैले सोही परिचय पत्र तत्कालै आफ्नो हत्केलामा राखी मोबाइलबाट फोटो खिचेपछि प्रस्ट रूपमा थाहा भयो कि मलाई निमित्त कार्यालय प्रमुखका रूपमा उल्लेख गरी किर्ते परिचयपत्र बनाएको देखिएबाट यिनीहरूले मेरो सहीछाप किर्ते गरी म तत्काल कार्यरत रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कार्ड प्रयोग गरेका रहेछन्।

मेरो मन्त्रालयको मेरो सहीछापसमेत किर्ते गरी परिचयपत्रसमेत बनाएको थाहा पाएपछि यससम्बन्धी सम्पूर्ण सूचना जापानको नारिता विमानस्थलबाटै कोसी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक राजन अधिकारीलाई ह्वाट्सएपमार्फत मेरो सहीछाप किर्ते गरी बनाएको कर्मचारी परिचयपत्रको फोटो, कार्यक्रमको सम्पूर्ण कागजातहरू अपराध अनुसन्धानका लागि मैले पठाएको हुँ र म नारिता विमानस्थलबाटै मलाई फिर्ता गरिदिनू म कार्यक्रममा जान्न भनी फिर्ता आएको हुँ। यसरी मानव तस्कर तथा किर्तेसम्बन्धी अपराधबारे मौकामै आफूलाई थाहा हुनेबित्तिकै प्रहरीलाई सूचना गर्ने व्यक्ति मै हुँ।

म यस अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएको हुँदा म अपराधमा संलग्न व्यक्ति होइन। मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानसमेत भइरहेको छ। मेरो हैसियत भनेको अपराधको सूचना दिने सरकारी गबाह हो मेरो र मेरो मन्त्रालयको सही छाप र परिचयपत्र किर्ते गरी बनाएको हुँदा म आफैं पीडित हुँ।

दोषीमाथि कारबाही गरी मैले न्याय पाऊँ। जनक राई र कञ्चन देवकोटाका नाममा कोसी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगर लेखिएको कर्मचारी परिचयपत्रको डिजिटल कार्डहरू म सोही मन्त्रालयको मन्त्री भएको हुँदा ती कार्डहरू किर्ते गरी बनाएका नक्कली कार्डहरू हुन्।

जनक राई र कञ्चन देवकोटा कोशी प्रदेश सरकार लेखिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरका कर्मचारीहरू होइनन्। उनीहरूका नाममा बनेको कर्मचारी परिचय पत्रको डिजिटल कार्डमा मेरो नाम लेखी सहीसमेत गरेको सहीछाप मेरो होइन। मेरो सहीछापसमेत किर्ते गरिएको हो।

जापानमा हुने कार्यक्रममा सहभागी हुन म नेपालबाट उड्नुभन्दा केही समय अगाडि मात्र महेश पाण्डेले मलाई मेरो भिसा लागेको राहदानी, प्लेनको टिकेट र कार्यक्रमको कागजातहरू दिएकाले मैले सबै कागजात हेर्न भ्याएको थिएन। के कसरी, को कसले कञ्चन देवकोटाको नाममा एउटै होटल बुक को कसले गरेका हुन् मलाई थाहा भएन।

म नेपालबाट जापानमा हुने कार्यक्रममा भाग लिन जाँदा एक्लै गएको र सो कार्यक्रममा म जानुभन्दा अगाडि कञ्चन देवकोटासमेतका प्रतिवादीहरू मसँग नै जापानमा जाँदैछन् भन्ने कुराको जानकारी मलाई थिएन। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मैले हङकङमा मात्र भेटेको हुँदा निजहरूलाई म चिन्दिनँ।

उनीहरूलाई को कसले के कति रकम लिई जापानमा पठाएका हुन्, मलाई थाहा भएन। उनीहरूबाट मैले कुनै पनि रकम लिएको छैन। जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर सन् २०२४ को सात दिनको कार्यक्रममा सहभागी गराउने आयोजकहरू को हुन्, मलाई थाहा भएन। आयोजकसँग मेरो सम्पर्क र चिनजानसमेत छैन। योगराज गौतम मेरो छिमेकी नगरपालिकाका स्थानीय बासिन्दा र मेरा पुरानो साथी भएकाले राम्रोसँग चिन्दछु।

महेश पाण्डेलाई मैले मिति २०८१/०७/११ गते मात्र भेटेको हुँ। कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई म चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा छैन। मलाई जापानमा कार्यक्रम हुँदैछ आयोजकले खर्च बेहोर्छन् जाने हो भनी मलाई योगराज गौतमले सोधेकाले मैले हुन्छ भनेपछि उनले मेरो राहदानीसमेत लगेर को–कसलाई भनेर भिसा लगाएका हुन्, मलाई थाहा भएन। म जापान उड्ने दिनमा मात्र मलाई महेश पाण्डे भन्ने व्यक्तिले भिसा लागेको राहदानी समेतका कागजातहरू दिएको भन्ने कुरा मैले माथि नै बयानका क्रममा खुलाई लेखाइसकेको छु।

मैले कञ्चन देवकोटा, दावा शेर्पा, जनक राईलाई चिन्दिनँ। उनीहरूलाई को कसले जापान पठाएका हुन् मलाई थाहा भएन। म हङकङको ट्रान्जिटमा रहेको अवस्थामा उनीहरू मलाई नमस्कार भन्दै आए। मलाई कसरी चिन्नुभयो भनि सोध्दा उनीहरूले हामीलाई कसैले फोटो पठाएको थियो सोही फोटोमार्फत चिनेका हौं भनेकाले उनीहरूसँग मेरो हङकङमा भेटघाट हुनु एक संयोग मात्र हो। उनीहरूसँग मेरो सोभन्दा अगाडि चिनजान, सम्पर्क, भेटघाट केही थिएन र छैन। उनीहरूले साथमा बोकेको कर्मचारी परिचय पत्र नक्कली भन्ने कुरा मैले थाहा पाउनेबित्तिकै यिनीहरूले मलाई नियोजित ढंगले प्रयोग गरेको कुरा थाहा पाउनासाथ तत्कालै मैले आफू जापानको कार्यक्रममा भाग लिन जान्न भनी नारिता विमानस्थलबाटै फिर्ता भई किर्ते गरी परिचयपत्र बनाई तस्करी भएको सम्बन्धमा मैले तत्कालै प्रहरीलाई जानकारी गराई अपराधमा संलग्न मानिसहरूलाई पक्राउ गर्न सहयोग गरेको हुँ।

प्रकाशित: १५ मंसिर २०८१ ०६:५३ शनिबार

# Immunity without trial # Human Trafficking and Trafficking