मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा(जयकृष्ण गोइत)ले धम्की दिएका छन्।
मन्त्री लेखीले आफूलाई जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिकबाट धम्की आएको जानकारी मुख्य मन्त्री सतिशकुमार सिंह र प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यलाई गराएको बताएका छन्।
मधेसका गृहमन्त्रीलाई भूमिगत सशस्त्र समूहबाट आएको धम्कीले यहाँको सुरक्षा व्यवस्थामा चुनौती थपिदिएको छ। बिहीबार प्रदेशको सुरक्षा बैठकमा गृहमन्त्रीले आफूलाई मंसिर १२ गते राती जयकृष्ण गोइतले फोनमार्फत चन्दा मागेको बताएका थिए।
डिआइजी लालमणी आचार्यका अनुसार मन्त्रीज्यूलाई भारतीय नम्बरबाट जयकृष्ण गोइतले फोनमार्फत चन्दा मागेको विषय जानकारीमा आएपछि अनुसन्धान अघि बढाइएको छ।
मन्त्री लेखीले नागरिकसँग भने,‘मलाई भारतीय नम्बरबाट फोन गरेर जयकृष्ण गोइतले चन्दा मागेका हुन। उनी मधेसमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष हुन।' पछिल्लो समय भारत बस्दै आएका उनी अस्वस्थ्य भएर थलिएको सुरक्षा स्रोतले बतायो।
प्रकाशित: १४ मंसिर २०८१ १७:२८ शुक्रबार