कोसी प्रदेशको बजेट संशोधन हुने भएको छ। शुक्रबार विराटनगरमा बसेको कांग्रेस–एमाले दुई दलीय संयन्त्रको बैठकले बजेट संशोधनको तयारी सुरु गर्ने, दुई दलको सहमतिबाट विशेष प्राथमिकता प्राप्त र नागरिकको अत्यावश्यक मागहरूलाई आधार मानी कार्यान्वयनयोग्य कार्यक्रमहरूमा बजेटलाई केन्द्रित गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलाई थप प्रभावकारी बनाउने, मुख्यमन्त्री र मन्त्रीहरूले सरकारको नीति कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको छ । यस्तै प्रदेश सरकारबाट सञ्चालित बहु वर्षीय वा अन्य प्रकृतिका आयोजनाहरूको स्टाटस केलाई क्रमशः सम्पन्न गर्ने गरि आयोजनाहरूको वर्गीकरण गर्ने, प्रदेश सरकारका सामु रहेका चुनौतीहरूलाई सामना गर्न नियमित छलफल, परामर्श र समीक्षा गर्दै अवसर र सम्भावनाहरूको अधिकतम उपयोग गर्ने निर्णय गरेको छ। प्रदेश लगानी सम्मेलन, अन्तर्राष्ट्रिय चिया सम्मेलन र पर्यटन वर्ष महोत्सव लगायतको तयारी गर्ने, निजी क्षेत्र सबैलाई समेट्ने गरी भुमिका दिने निर्णय बैठकले गरेको छ।
प्रदेश सरकार मातहतका सहकारीहरूको बचत, लगानी र अन्य अपचलन लगायतको विषयहरूको अध्ययन गर्न सरकारले एक समिति गठन गर्ने, पाथीभरा केबलकार निर्माण प्रक्रियामा देखिएको द्वन्द्व र झडपबाट उत्पन्न समस्या समाधानका लागि तत्काल सरकार र दुई दलिय संयन्त्रले आ आफ्नो तर्फबाट निर्माण कम्पनी र आन्दोलनरत पक्षसँग वार्ता र संवाद गरि उपयुक्त निकास दिने निर्णय संयन्त्रको बैठकले गरेको छ।
प्रदेश नामाङ्कन विषयलाई लिई आन्दोलनरत पहिचानबादीहरुसंग समेत वार्ता समिति बनाई सरकारले संवाद गर्ने, एसियन हाइवे (पूर्व पश्चिम) निर्माणमा उत्पन्न अवरोध र कच्चा पदार्थ आपूर्ति लगायतमा उत्पन्न समस्या समाधानका बारेमा सम्बन्धित पक्षहरूसँग तत्काल संवाद र छलफल गरि समाधानका लागि सरकार र संयन्त्रले पहल गर्ने निर्णय बैठकले गरेको छ। नेकपा एमालेका स्थायी समितिका सदस्य शेरधन राइको अध्यक्षतामा बसेको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की,नेपाली काग्रेसका कोसी सभापति उद्दब थापा साथै प्रदेशका मन्त्रीहरु र संयन्त्रका सदस्यहरू सहभागी थिए।
प्रकाशित: १४ मंसिर २०८१ १७:१३ शुक्रबार