राजनीति

बुढ्यौली बोझ होइन विकासको आधार: प्रम ओली

काठमाडौंमा बुधबार आयोजित छैटौं एसियाली जनसंख्या सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायत सहभागी। तस्बिर: प्रधानमन्त्रीको सचिवालय/रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल विश्वमा बढ्दो बुढ्यौली जनसंख्यालाई बोझ नभई समाज विकासको आधार मान्नुपर्ने बताएका छन्। बुधबार राजधानीको सोल्टी होटेलमा आयोजना गरिएको छैटौं एसियाली जनसंख्या सम्मेलनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले जनसंख्याको बदलिँदो आयामबारे आफ्ना धारणा राखेका थिए।

 काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा भर्खरै जन्मिएका शिशु र सुत्केरीलाई स्वास्थ्यलाभको सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनसंख्याको मुख्य तत्व प्रजनन, मृत्यु र बसाइँसराइँ रहेको र घट्दो प्रजनन दरले विश्वमा चुनौती थप्दै गएको अवगत गराएका थिए।

प्रधानमन्त्री ओलीले विश्वमा हाल प्रजनन दर २.२ रहेकाले यसले भविष्यमा सिर्जना गर्ने चुनौतीबारे विचार राखेका थिए। ‘आठ अर्बको विश्व जनसंख्यामा प्रजनन दर २.२ छ भने ६५ वर्ष वा सोभन्दा माथिको उमेर समूहको जनसंख्या १० प्रतिशत छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही क्षेत्र जस्तै–पूर्वीएसिया, युरोप र नर्थ अमेरिकामा यो संख्या २० प्रतिशतभन्दा माथि नै रहेको छ। नेपालमा पनि बुढ्यौलीको जनसंख्या सात प्रतिशत पुगिसकेको छ। औसत आयुमा पनि बढोत्तरी नै आएको छ।’

बुढ्यौली जनसंख्यालाई बोझ नभई समाज उन्नतिको आधार मान्न उनले आग्रह गरे। उनले भने, ‘अब जनसंख्याको नीतिनियम परिवर्तन गरी यसको व्यवस्थापनतर्फ केन्द्रित हुन जरुरी छ।’ उनले नेपालमा प्रजनन दरमा समेत कमी आएकाले विगतमा ‘हामी दुई र हाम्रा दुई’ भन्ने नारामा परिवर्तन गरिनुपर्ने नीति राज्यले अवलम्बन गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले जनसंख्याका हरेक पक्ष र आयामलाई अब राज्यले सामाजिक, आर्थिक र राजनीतिक रणनीतिसँग जोडेर लगे मात्र देश समृद्ध बन्नेसमेत धारणा राखे। ‘विकास र जनघनत्वलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सरल जीवनयापन र जनघनत्वका सहसम्बन्धमा ध्यान दिनुपर्छ’, उनले भने ,‘सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकता परिपूर्ति गर्न सरकारी प्रयास जारी रहेको छ।

प्रधानमन्त्री ओलीले समावेशी र समानता नीति अवलम्बन गरी धनी र गरिबबीचको खाडल पुरिनुपर्ने, आत्मसम्मानसहितको मानवअधिकार, स्वस्थ्य र आशासहितको विश्व निर्माणमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनले ११२ जना छोरा जन्मिन्दा सयजना छोरीको मात्र जन्म हुने भएकाले यसले निकट भविष्यमा विकराल रूप लिन सक्नेमा सचेत गराएका थिए। ‘सम्मेलनबाट आएको निष्कर्ष पक्कै पनि जनसंख्याको बदलिँदो आयामलाई सम्बोधन गर्न कोसेढुंगा सावित हुने विश्वास लिएको छु।’

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बढ्दो औसत आयु र बुढ्यौली जनसंख्या व्यवस्थापन गर्न सोहीअनुसार राज्यले नीतिनियम तय गरिनुपर्नेमा जोड दिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष खड्ग केसी, जनसंख्या विभाग प्रमुख योगेन्द्रबहादुर गुरुङलगायत सातै प्रदेशका उपप्रमुखहरूको उपस्थिति रहेको छ।

 सम्मेलनले विश्वका जनसंख्याका विविध आयामबारे बुझ्न पाउने अवसर दिएकाले यो उपलब्धिमूलक रहेको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागले आयोजना गरेको सम्मेलन चार दिनसम्म चल्ने छ।

प्रकाशित: १३ मंसिर २०८१ ०८:०६ बिहीबार

# Prime Minister KP Sharma Oli # Aging is not a burden but a foundation for development