राजनीति

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

काठमाडौं- निजी विद्यालयको शुल्क वृद्धि रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले ७ सय ५३ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ। सोही अन्तर्गत मंगलबार उनीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई मागपत्र दिएका छन्। राजधानीमा कक्षा १ को भर्नामै लाखौं रकम असुलिएको प्रमाण पेश गर्दै ऐनले दिएको अधिकार प्रयोग गरेर त्यसलाई तत्काल रोक्न उनीहरुले माग गरेका थिए।

ज्ञापनपत्र बुझ्दै काठमाडौं महानगरपालिकाका मेयर शाक्यले चर्को शुल्क लिने विद्यालयको अनुगमन गर्ने बताए। शाक्यले भने- 'हामी ऐनबाटै नियमन गर्ने कोशिसमा छौं।' शाक्यलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ -' नेपालको संविधान २०७२ को धारा ३१ को शिक्षा सम्वन्धि हकमा “(१) प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहुचको हक हुनेछ । (२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।” विद्यालय तहको शिक्षामा शुल्क निर्धारण र अनुगमनको दायित्व स्थानीय तहको भएकाले निजी क्षेत्रमा गरिएको मनपरि शुल्कवृद्धि तत्काल नरोकिए कडा संघर्षमा उत्रन वाध्य हुने चेतावनी तीन विद्यार्थी संगठनले दिएका छन्। ज्ञापनपत्रमा अनेरास्ववियुका अध्यक्ष नविना लामा,नेविसंघ अध्यक्ष नैनसिंह महर र क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले हस्ताक्षर गरेका छन्।

 

प्रकाशित: २७ चैत्र २०७४ ०८:५७ मंगलबार

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र