प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१औँ राष्ट्रिय ज्यापू दिवसको औपचारिक निम्तो दिइएको छ। ज्यापू संस्कृति विकास कोषका पदाधिकारीसहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई दिवसको परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिएको हो।
सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो।
यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ।परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १२ मंसिर २०८१ १२:३३ बुधबार