राजनीति

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारी रिहा

.

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई रिहा गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सोमबार उनलाई आफन्तको जिम्मा लगाइएको छ।

अधिकारी गत कात्तिक ११ गते टोकियो महानगर र आर्ट काउन्सिल टोकियोद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुन जापान गएका थिए। तर, उनीसँगै गएका खोटाङका जनक राई, दावा शेर्पा, र रसुवाका कञ्चन देवकोटालाई जापानको नारिता विमानस्थलमा अध्यागमनले रोकेर डिपोर्ट गरिदिएको थियो। डिपोर्टपछि थप अनुसन्धानका लागि उनीहरूलाई काठमाडौं ल्याइएको थियो।

काठमाडौं प्रहरीले अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। तर, सरकारी वकिल कार्यालयले प्रमाणहरू अध्ययन गर्दा अधिकारीविरुद्ध मुद्दा चलाउनुपर्ने आधार फेला नपरेको भन्दै मुद्दा दर्ता नगर्ने निर्णय गरेको छ। अधिकारीले स्वयं जापानमा पुगेपछि आफू प्रयोग भएको थाहा पाएर नेपाल प्रहरीलाई जानकारी गराएको देखिएको छ।

अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। मुख्य अभियुक्त महेश पाण्डेसहित अन्य केहीलाई पक्राउ गरिएको छ भने तीन जना फरार रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८१ १९:४३ सोमबार