राजनीति

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: नारायणप्रकाश साउद

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा  ऋणसम्बन्धी कुनैपनि सम्झौता नगर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँगको सामूहिक छलफलमा सो कुरा स्पष्ट पारेका हुन।

प्रधानमन्त्री ओलीले चीनसँग कुनैपनि खालको ऋण सम्झौता नगर्ने आशयको अभिव्यक्ति छलफलको क्रममा दिनुभएको कांग्रेस नेता समेत रहेका पूर्व परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले जानकारी दिए।उनले प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि उल्लेख गर्नुभएको जानकारी दिए।

नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरूलाई कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको उनले बताए। विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राखेका थिए।

त्यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको उद्देश्यबारे प्रस्ट पार्दै घुम्नको लागि नभई काम गर्नको लागि चीन जान लागेको जानकारी गराएको पूर्व परराष्ट्र मन्त्री डा विमला राई पौड्यालले बताइन।उनले विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको स्थितिबारे छलफल भएको उल्लेख गरिन।

प्रधानमन्त्रीले भ्रमणको क्रममा चीनको विकासबाट नेपाल कसरी लाभान्वित हुन्छ भन्ने विषयमा समेत जानकारी दिएको उनले बताइन। एमाले नेता समेत रहेका  पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले विगतमा गरिएका सहमति कार्यान्वयनमा जोड दिन सबै नेताहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको बताए। उनले प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा केन्द्रित भएर आफ्नो चीन भ्रमण हुने धारणा राख्नु भएको उनले बताए।

पूर्व परराष्ट्र मन्त्री एवं राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले पनि राष्ट्रिय हित र राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरी चीन भ्रमणमा आफ्नो कुरा राख्न आफूले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए । 

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गते चीनको औपचारिक भ्रमण गर्दै छन्। सोही सन्दर्भमा उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका हुन। छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्र मन्त्री डा.आरजु देउवा राणा, पूर्व परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल , प्रकाशचन्द्र लोहनीलगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित: १० मंसिर २०८१ १७:०९ सोमबार