राजनीति

राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमा: महासचिव पोखरेल

फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरू मारमा परेको बताएका छन्।सोमबार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो कुरा बताएका हुन।उनले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए।

महासचिव पोखरेलले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरू आफू अनुकूल थप्ने तथा पुराना आयोजनाहरूलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे। उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए। उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरे।

महासचिव पोखरेलले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताए । उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए। उनले यस्तो हुँदा बाहिर जाने युवाहरूले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताए।

उनले मुलुकभित्र पर्याप्त मात्रामा सामर्थ्य भए पनि मुलुकको सामर्थ्य समान गर्न सक्ने राज्य कमजोर बनाइएको बताए। उनले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व भए मात्रै देश बन्ने बताए। उनले  नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए।

उनले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खोज्यो भनिएको बताए।उनले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताए।उनले लोकतन्त्रमा जसले पनि विकल्प दिन सक्ने बताए। उनले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिँड्न तयार हुनु पर्ने बताए। 

प्रकाशित: १० मंसिर २०८१ १४:३७ सोमबार

#shankar pokharel #NCP-UML