राजनीति

अधिकारी हत्या मुद्दाको अर्को पेसी स-यो

चितवन – कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारी चैत २५ गते चितवन अदालतमा उपस्थित भएनन्। अधिकारी हत्या प्रकरणमा यसअघिको पेसीमा जाहेरवालालाई अदालतमा उपस्थित हुन आदेश गरिएको थियो। जाहेरवाला अदालतमा उपस्थित नभएपछि मुद्दाको अर्को पेसी जेठ २२ गतेलाई तोकिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले जानकारी दिए।

रत्ननगरको जयमंगलामा रहेका हजुरबुबा र हजुरआमालाई भेट्न आएका गोरखा फुजेलका कृष्णप्रसादको २०६१ साल जेठ २४ गते रत्ननगरमा हत्या गरिएको थियो। फागुन १३ गते जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले नुरप्रसादलाई झिकाउन आदेश दिएका थिए । नुरप्रसादका नाममा ११५ नम्बरबमोजिमको आदेश जारी गरी बकपत्रका लागि चैत २५ गते अदालतमा हाजिर हुन चिट्ठी काटिएको थियो।
 
आदेशबमोजिम जाहेरवाला नुरप्रसादले जाहेरी दिँदाको ठेगाना गोरखा जिल्लामा बकपत्रका लागि अदालत आउनु भनेर चिट्ठी पठाइएको थियो। चिट्ठी बुझ्ने कोही नभएपछि नुरप्रसादको नामको म्याद सार्वजनिक स्थान चौतारामा टाँसिएको थियो।

मुलुकी ऐन अदालती बन्दोबस्तको ११५ नम्बरअनुसार नबुझी नहुने भनिएको व्यक्ति तोकिएको मितिमा उपस्थित नभए उल्टै सजाय गर्न सकिने समेतको व्यवस्था कानुनमा रहेको छ। पहिलोपटकका लागि ५० रुपैयाँ जरिवाना र पक्राउ गर्न सकिने व्यवस्था छ। त्यस्तै, दोस्रोपटकका लागि बाटोको म्यादबाहेक ७ दिनका लागि समय दिँदा पनि उपस्थित नभएमा १५ दिनदेखि ४५ दिनसम्मको कैद सजाय दिन सकिने ऐनमा उल्लेख छ।

प्रकाशित: २७ चैत्र २०७४ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App