राजनीति

कर्णालीका मुख्यमन्त्री भन्छन्: योजना किनबेचका वस्तु होइनन्

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका योजना किनबेचका वस्तु नभएर जनताको अधिकारका विषय भएको बताएका छन् । शुक्रवार विकास निर्माणको अवस्था बुझ्न जुम्ला पुगेको अवसरमा नेपाल पत्रकार महासङ्घ जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । 

‘योजना किनबेचको वस्तु होइन, यो सेवाग्राहीको अधिकार हो,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले भने,‘योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यले स्थान पाउने छैन ।’ यही कुराको जनचेतना बढाउनका आफू जिल्ला दौडाहामा खटिएको पनि उनले दाबी गरे । 

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारबाट भएका विकासे कार्य, समस्या र सम्भावनाको समीक्षा गर्न आफू जुम्ला भ्रमणमा आएको बताए । उनले भने,  ‘कर्णाली क्षेत्रको विकासको अवस्था प्रत्यक्ष बुझ्न जुम्ला पुगेको हुँ । प्रदेशका जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने प्रक्रियालाई सुदृढ बनाउनु नै मेरो जिम्मेवारी हो ।’ 

सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वयको अभावले कतिपय योजना अलपत्र परेको मुख्यमन्त्री कँडेलले सुनाए । योजना निर्माण र कार्यान्वयन बीचको स्वार्थको खाडललाई घटाउन जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूको समन्वय अत्यावश्यकता देखिएको पनि उनले बताए । 

नागरिकमा सरकारप्रतिको विश्वास बढाउन र योजना कार्यान्वयनको पारदर्शिता देखाइ सुशासन कायम  राख्न पनि आफू लागिपरेको मुख्यमन्त्री कँडेलले सुनाए। 

प्रकाशित: ७ मंसिर २०८१ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App