गृहमन्त्री रमेश लेखकले तत्काल मन्त्री परिवर्तन हुने कुरा निराधार हल्ला मात्र रहेको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले आजका मितिसम्म सरकारका सहभागी मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताउँदै बाहिर आएको हल्ला सत्य नभएको बताएका हुन् ।
‘दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन’, गृहमन्त्री लेखकले भने । यद्यपि प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
२०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको ठाउँमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गृहमन्त्री लेखकले प्रस्ट्याए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा दुई दल बिच खटपट भएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा ‘त्यो पनि बेकामको हल्ला’ भएको गृहमन्त्री लेखकले प्रतिक्रिया दिए । ‘एमाले र काँग्रेस बिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन,’ उनले भने,‘दुई दल मुख्य प्रतिस्पर्धी भए पनि मिलेर सरकार चलाइरहेका छौँ । २०८४ को निर्वाचन सम्म सहज मिलेर जान्छौँ ।’
प्रकाशित: ६ मंसिर २०८१ १२:२० बिहीबार