राजनीति

जिसस प्रमुखमा दलित महिला: ‘पढेकै कारण राजनीतिमा अवसर पाएँ’

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी भुल निर्विरोध निर्वाचित भएकी हुन्।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार नागरिक उन्मुक्ति पार्टीकी रुपमतीले बुधबार दिउँसो साढे १२ बजे उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विरोध निर्वाचित भएकी हुन्।

‘बुधबार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको थियो,’ भट्टले भने, ‘नागरिक उन्मुक्तिकी रुपमतीले साढे १२ बजे उम्मेदवारी फिर्ता लिइन्।’

नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरूको उपस्थितिमा रुपमतीले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएका हुन्।

राजनीतिक सहमति र गठबन्धनको सरकारमा आफूहरू पनि समावेश भएकाले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएकी रुपमतीले उम्मेदवारी फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले बताए।

उनले भने, ‘यसअघि गठबन्धनको बैठक नबसेको र तल्लो तहसम्मका कार्यकर्ताबिच अन्यौलता भएकाले नै जिल्ला समन्वय समितिको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिएको थियो।’

नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उप–निर्वाचन हुन लागेको हो। 

को हुन् भुल ?  

प्रवीणता प्रमाणपत्र तह पास टीकाकुमारी चौधरी (भुल) कैलारी गाउँपालिका-२, रामपुरकी स्थायी बासिन्दा हुन्। बुबा लाहनु चौधरी र आमा सीतादेवी चौधरीको कोखबाट २०४८ सालमा जन्मिएकी टीका २०७९ मा स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिका-२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि दलित महिला सदस्य पदमा उम्मेदवार भएकी थिइन्। त्यस बेला उनी झिनो मतले पराजित भएकी थिइन्। पुनः २०७९ को निर्वाचनमा पनि त्यही पदमा चुनाव लडेकी उनी यस पटक भने विजयी भएकी थिइन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा चुनाव लड्दाका बखतदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेको उनले बताइन्। उनले भनिन्, ‘त्यसअघि म गाउँमा सामाजिक क्षेत्रमा काम गर्थेँ, २०७४ को निर्वाचनपछि सक्रिय राजनीतिमा लागेकी हुँ।’

कक्षा ८ मा पढ्दै गर्दा आर्थिक अवस्था कमजोर भएकाले पढाइ छाडेकी उनलाई गाउँकै शिक्षक शेषराज न्यौपानेले विद्यालयमा नाम लेखाएर पढ्न हौसला दिए। शिक्षक न्यौपानेकै हौसलाबाट उनले एसएलसी पास गर्दै प्लसटुसम्म अध्ययन गरिन।

‘शेषराज सरले मेरो नाम नलेखाई दिएको भए पढाइ अपूरै हुन्थ्यो,’ उनले भनिन्,‘सरको हौसलाले नै प्लस टु सम्मको अध्ययन गर्ने अवसर पाएँ।’ गाउँमा पढेलेखेको र दलित महिला भएकै कारण पनि आफूले राजनीतिमा अवसर पाएको उनी बताउँछिन्।

थारु समुदायकी उनले दलित समुदायका दयाशंकर भुलसँग विवाह गरिन्। अन्तरजातीय विवाह गर्दा समाज र आफन्तले हेयको दृष्टिले हेरेको स्मरण गर्दै उनले भनिन्,‘भुल समुदायका केटासँग विवाह गर्दा धेरैले कुरा काटे, पछि बिस्तारै सबैले सहयोग पनि गरे।’

सुरुसुरुमा आफ्नो हातको पानी समेत पिउन नमानेका आफन्तहरू अहिले भने सहयोग गर्न थालेको उनले बताइन्। कुनै पनि अवसरको पछाडि चुनौती रहेको बताउँदै उनले भनिन्,‘अवसरसँगै चुनौती पनि हुन्छ, म समाजलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरिसकेकी मान्छे हुँ, सामाजिक चुनौतीसँग जुधिसकेको म राजनीतिक चुनौती चिर्दै सके जति राम्रो काम गर्नेछु।’

भुलका पति दयाशंकर सोलुखुम्बुमा शिक्षण पेसामा छन्। राजनीतिमा आफूलाई आफन्तसँगै पतिले पनि सहयोग गरेको उनले बताइन्। घरपरिवारको सहयोगकै कारण राजनीतिमा सफलता पाएको उनले बताइन्।

‘घरपरिवारले नै वडा सदस्य पदमै नलड्न भनेपछि अहिले कहाँबाट म यहाँ पुग्थे र ?,’ उनले भनिन्,‘एक महिला अगाडि बढ्न घरपरिवारसँगै पतिको पनि सहयोग र साथ हुनु जरुरी छ।’

प्रकाशित: ५ मंसिर २०८१ १७:३१ बुधबार

#Kailali #KailaliDCC