राजनीति

एमालेको जागरण सभा दरबारमार्गमा हुने, एक लाख मानिस उतार्ने

.

सत्तारुढ नेकपा (एमाले) ले मंसिर ७ गतेको जागरण सभा काठमाडौंको दरबारमार्गमा आयोजना गर्ने भएको छ। भृकुटीमण्डपमा सभा गर्ने प्रारम्भिक योजना भए पनि स्थान सानो हुने भएकाले दरबारमार्गमा सभा गर्ने निर्णय भएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सभाका संयोजक एवं पार्टी स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले एमालेले सो सभामा एक लाख जनतालाई उतार्ने लक्ष्य लिएको जानकारी गराए।

संयोजक भट्टराईले भने, ‘हाम्रो लक्ष्य करिब एक लाखको सहभागिता रहेको छ। उपत्यकाका तीन जिल्ला, जनसंगठन र सम्पर्क कमिटीको सहभागिताले यो सम्भव छ।’

सभाको तयारीबारे उनले भने, ‘जुलुस भद्रकालीबाट सुरु भई न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क, त्रिचन्द्र क्याम्पस हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ। भृकुटीमण्डप सानो हुने भएकाले ट्राफिक व्यवस्थापन र सहभागिताको आकारलाई ध्यानमा राखी दरबारमार्ग रोजिएको हो। सभा दिउँसो १२:३० बजे सुरु हुनेछ।’

सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। एमालेले सभा आयोजनाको उद्देश्य प्रतिपक्षी दलहरूले सडकमा अराजकता फैलाएको भन्दै जनतामा सुशासन र समृद्धिको सन्देश दिन जागरण ल्याउनु भएको जनाएको छ।

डा. भट्टराईले भने, ‘प्रधानमन्त्री ओलीका साथै अन्य शीर्ष नेताहरूले सभालाई सम्बोधन गर्नुहुनेछ। सभा उपत्यकाको राजनीति र सुशासनको सन्देश दिने महत्वपूर्ण कार्यक्रम बन्नेछ।’

सभाका लागि एमालेले व्यापक जनसंगठनहरूलाई परिचालन गर्ने तयारी गरेको छ।

प्रकाशित: ५ मंसिर २०८१ १६:३५ बुधबार