राजनीति

नेपाली समाज नै ढोंगी प्रवृत्तिले ग्रस्त: सञ्चारमन्त्री गुरुङ

‘जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने मेरो मान्यता’

<br>

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याँईको राजनीतिले देशलाई गलत दिशामा धकेल्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण समारोहमा बोल्दै उनले नेपाली समाज नै ढोंगी प्रवृत्तिले ग्रस्त भएको भन्दै यस्तो धारणा राखेका हुन्।

मन्त्री गुरुङले कार्यक्रममा समाजको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै भने, ‘हाम्रो समाज ढोंगी हुँदै गएको छ। यहाँ के बोल्दा तत्काल ताली बज्छ, त्यही मात्रै बोल्ने क्रमको विकास भएको छ। कलाकारको कार्यक्रममा म कलाकार थिएँ भन्छन्, मजदुरको कार्यक्रममा जाँदा म मजदुर नेता थिएँ भन्छन्। यस्तो लोकरिझ्याँईको राजनीति गलत हो।’

उनले मन्त्री बन्न कुनै योग्यता आवश्यक नपर्ने परम्पराले देश विकास हुन नसकेको उल्लेख गर्दै भने, ‘चुनाव जितेर पार्टी र नेताले मन पराएपछि मन्त्री बन्न पाइन्छ। तर सम्बन्धित क्षेत्रमा विज्ञता नभएकाले क्षेत्र अस्तव्यस्त भएका छन्। खेलकुद नबुझेका मानिस खेलकुद मन्त्री, वन नबुझेका मानिस वन मन्त्री भइरहेका छन्। म आफैं पनि सञ्चारको विषय धेरै नबुझ्नेमा पर्छु, तर मेरो उद्देश्य भने जनताका लागि इमानदार रहनु हो।’

मन्त्री गुरुङले चलचित्र क्षेत्रको विकासका लागि नयाँ ऐन ल्याउने तयारी भइरहेको जानकारी दिँदै पुराना ऐनलाई प्रतिस्थापन गरी आजको दिनमा उपयुक्त हुने कानुन निर्माण गर्न मन्त्रालय लागिपरेको बताए।

उनले चलचित्र विकास बोर्डको सम्बन्धमा तयार गरिएको विधेयक क्याबिनेटमा पेश गरिने जनाउँदै नयाँ चलचित्र ऐन २०८१/०८२ भित्र लागू गर्ने प्रतिवद्धता व्यक्त गरे।

‘जनतालाई नढाँट्ने, जति सकिन्छ त्यति मात्रै गर्ने मेरो मान्यता हो,’ मन्त्री गुरुङले भने। ‘चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनका लागि नयाँ कानुनको आवश्यकता छ, र हामी त्यो कार्यमा जुटिरहेका छौं।’

मन्त्री गुरुङले योग्य र विज्ञ व्यक्तिलाई मन्त्रालयको जिम्मेवारी दिनुपर्नेमा जोड दिँदै देश विकासको मार्ग यथार्थपरक, इमानदार र दीर्घकालीन सोचका आधारमा तय गर्नुपर्ने बताए। 

प्रकाशित: ५ मंसिर २०८१ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App