रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एमाले) का जीवन रोकाले आफ्नो मनोनयन फिर्ता लिएपछि घर्ती निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अधिकृतको कार्यालयले बुधबार एक विज्ञप्ति निकाल्दै वडाध्यक्षका लागि एक जनाको मात्र उम्मेदवारी परेकाले घर्ती निर्विरोध भएको घोषणा गरेको हो।
नेपाली कांग्रेस समेतको समर्थनमा उम्मेदवारी दिएका एमालेका रोकाले भने माओवादीका घर्तीलाई समर्थन गर्ने भन्दै आफ्नो मनोनयन फिर्ताको घोषणा गरेका थिए।
रुकुम माओवादीको सशस्त्र द्वन्द्वकालीन आधार क्षेत्र हो। २०७९ को स्थानीय तह निर्वाचनमा यो वडामा माओवादीका जसबहादुर श्रीपालि २३४ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए।
प्रकाशित: ५ मंसिर २०८१ १५:१७ बुधबार