राजनीति

खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल गर्छुः मन्त्री यादव

.

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताएका छन्।

मंगलबार काठमाडौंमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफूले मन्त्रालयका सचिवलाई खानेपानी मन्त्रालयबाट छिनिएको सरसफाईको अधिकार फिर्ता गर्नेगरी सो प्रश्ताव अघि बढाउन निर्देशन दिएको पनि सुनाए।

आफ्नो पहिलो जिम्मेवारी मन्त्रालयलाई मजबुत बनाउनु रहेको बताउँदै मन्त्री यादवले सोहीअनुसार अघि बढिरहेको जानकारी दिए।

उनले भने, ‘सबैभन्दा पहिला मेरो दायित्व, मेरो फर्ज, मेरो धर्म, मन्त्रीको जिम्मेवारी पाएको हुनाले यो मन्त्रालयलाई मजबुत गराउनु नै हो। मेरो अबको कदम तथा सरसफाईलाई कसरी ल्याउने ? यानकी खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालयलाई कसरी बनाउने ? भन्ने हो। त्यसमा म लागिपरेको छु।’

उनले खानेपानी तथा सरसफाई मन्त्रालय बनेपछि धेरै अधिकारहरु मन्त्रालयमा जोडिने पनि उल्लेख गरे। खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय नबनाएसम्म आफूले चाहेअनुसार गतिमा काम गर्न नसकिने पनि उनले स्पष्ट पारे।

उनले भने, ‘हाम्रो मन्त्रालयबाट छिनिएको शक्तिलाई कसरी शक्तिमान गराउने, हाम्रो मन्त्रालयबाट छिनिएको कुरा कसरी ल्याउने भन्नेमा म लागेको छु। त्यो फिर्ता नल्याएदेखि हामीले चाहेअनुसार मन्त्रालय चलाउन हामी सक्दैनौं। मन्त्रालयमा मन्त्रीहरु आउनै मान्दैनन्। खानपानी मन्त्रालयको जिम्मेवारी पाएपछि पहिल्यै नाक खुम्च्याउँछन्। तर म रमाइरहेको छु।’

मन्त्री यादवले राम्रो गर्नसक्नेको मात्रै नाम हुने भन्दै सबै मिलेर मन्त्रालयलाई मजबुत बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: ४ मंसिर २०८१ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App