राजनीति

माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाई बाई’ भइसक्यो: पूर्वसञ्चारमन्त्री गुरुङ

सत्तारुढ नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र)ले विकासको नाममा कमिशनतन्त्र चलाई रहेको आरोप लगाएका छन्।

पार्टीको गौरीशङ्कर गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रलाई विकास विरोधी,अझै पनि हत्या र हिंसामा विश्वास गर्ने पार्टी भएकाले उसको हैसियत राष्ट्रिय राजनीतिमा समाप्त भएको जिकिर समेत गरे।

नेता गुरुङले माओवादी केन्द्रसँग कुनै राजनीतिक संस्कार नभएकाले आगामी स्थानीय तहको निर्वाचनमा जनताले हराई दिने दाबी समेत गरे। विकासको नाममा कमिसन तन्त्र चलाउने भएकाले आगामी उपनिर्वाचनमा सो पार्टी पराजित हुने उनको भनाई छ। नेता गुरुङले मुलुकलाई राजनीतिक स्थायित्व र विकास दिनका लागि काँग्रेससँग सत्ता सहकार्य गरेर अघि बढ्नु परेको पनि बताए। माओवादी केन्द्रले कहिले एमाले, कहिले कांग्रेससँग मिलेर आफ्नो अस्तित्व मात्रै जोगाई रहेको बताए।

एमालेले पार्टीको तर्फबाट गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको रुपमा उमा शेर्पालाई उम्मेदवार बनाएको छ।पार्टीका स्थायी समिति सदस्य डा राजन भट्टराईले उहाँलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट औपचारिक रुपमा वितरण गरेका हुन।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य सरस्वती बस्नेतलगायतका नेताहरूले गौरीशङ्कर गाउँपालिकाको निर्वाचनमा एमालेले जित्ने दाबी गरेका थिए। 

प्रकाशित: १ मंसिर २०८१ १७:०९ शनिबार

#CPN (UML) #Parvat Gurung #Former Communications Minister Parwat Gurung #Gourishankar Rural Municipality