राजनीति

खेलबाट राष्ट्रको विकास गर्नुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले खेलबाट राष्ट्रको विकास गर्नेगरी अघि बढ्नुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको सुनाउँदै खेललाई राज्यले दिनुपर्ने जति महत्व दिन नसकेकोमा गुनासो समेत गरे।

उनले खेलकुदमा हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा धेरै अवसरहरु रहेको बताए। राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति सबै मिलेर मात्रै सम्भव रहेको जिकिर गरे।

नेपालले केही समय यता खेलकुदमा प्रगति गर्दै आइरहेको र अझ बढी क्रिकेटमा नेपालले प्रगति हाँसिल गरिरहेको बताए।

उनले भने, ‘खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ। खेललाई राज्यले जति महत्व दिनुपर्दथ्यो। सायद पुगिरहेको छैन। तर राज्य भनेको हामी सबै मिलेरै हुन्छ। हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौं भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ र राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिन्छ।’

सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको उल्लेख गरे।

प्रकाशित: १ मंसिर २०८१ १६:०१ शनिबार