राजनीति

चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझाव: ‘एक भिजिट,एक नेशनल गोल’

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर विज्ञहरूले एक पटकको भ्रमणमा एउटा मात्रै नेशनल गोल (राष्ट्रिय एजेन्डा) बनाउनुपर्ने बताएका छन्।

फ्रेण्ड्स अफ चाइनाद्वारा शनिबार काठमाडौंमा आयोजित आधुनिक चीनसँग नेपालको दुई पक्षीय सम्बन्धबारे छलफलमा बोल्दै विज्ञहरूले एक भ्रमण, एक राष्ट्रिय एजेन्डा बनाउनुपर्ने बताएका हुन्। उनीहरुले नेपालले विगतका प्रधानमन्त्रीहरूको भ्रमणमा पनि राष्ट्रिय प्राथमिकता र एजेन्डाहरूमा अलमलिएको भन्दै यस पटक त्यसो हुन दिन नहुनेतर्फ सचेत गराए।

चीनको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न जोड दिए। चिनियाँ लगानी भित्र्याउने, चीनको शिक्षाको मोडेल र अनुभवबाट शिक्षाको हब नेपाललाई बनाउने विषय प्रमुख प्राथमिकतामा पर्नुपर्ने सुझाव दिए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक सहयोगको पाटो पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए। उनले नवप्रवर्तनकारी कामहरू गर्नका लागि चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्न सके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरू विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताए।

उनले चीन विद्युतीय सवारीसाधन उत्पादन गर्ने पहिलो ठुलो देश भएकाले पनि नेपालमा त्यस किसिमका उद्योग सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए।नेपालले चीनसँग सरकारी स्तरमा हुने सम्बन्धका साथसाथै सांस्कृतिक र नागरिक स्तरको सम्बन्धमा जोड दिन जरुरी रहेको बताए। प्रधानमन्त्रीको भ्रमणमा जन स्तरीय सम्पर्क बढाउने कुरा एजेण्डामा पर्नुपर्ने धारणा राखे। 

प्रकाशित: १ मंसिर २०८१ १५:०५ शनिबार

#Prime Minister Kp Sharma Oli #National Goal (National Agenda) #Friends of China