राजनीति

हवाई भाडा वृद्धिबारे पर्यटन मन्त्रालयमा गगनले केके गरे छलफल ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद् सञ्जय गौतमले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर अस्वाभाविक हवाई भाडा वृद्धिबारे ध्यानाकर्षण गराएका थिए । 

गगन र सञ्जय पुग्दा मन्त्रालयमा पर्यटन मन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेय, मन्त्रालयका अन्य अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारी, नेपाल वायुसेवा निगमका अधिकारीहरू र अन्य सम्बन्धित प्रतिनिधि उपस्थित थिए । 

त्यहाँ भएको छलफलका विषय शुक्रबार गगनले सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत गगनले त्यो छलफलमा मूलतः दुई वटा विषयमा गम्भीर चासो राखेर आफूहरूले मन्त्री, सचिवलगायतका पदाधिकारीको ध्यानाकर्षण गराएको र त्यसबारे छलफल भएको जनाएका छन् । 

जसमा पहिलो अस्वाभाविक हवाई भाडा वृद्धि र दोस्रो दक्षिण कोरिया जाने श्रमिकको विषयमा रहेको उल्लेख छ । 

गगनले सार्वजनिक गरेको तथ्य: जस्ताको तस्तै

हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा 

मा. सञ्जय गौतम र मैले, माननीय मन्त्रीज्यू, सचिवज्यू, लगायत मन्त्रालयका अधिकारीहरू, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिहरू सँगको छलफलमा मूलतः दुई विषयमा हामीले गम्भीर चासो राख्दै ध्यानाकर्षण गराएका छौँ।

१. हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा:

क)अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि भएको छ। जसको सिधा असर आम मानिसमा परेको छ। हामीले यो सम्बन्धमा मन्त्रालयको धारणा सुन्यौँ। यसलाई सुधार गर्न के काम भइरहेको छ भन्ने जानकारी सुन्यौं।

ख) डिसेम्बर महिनाबाट धेरै सुधार हुन्छ भन्ने कुरा आए पनि त्यसपश्चात्को हवाई भाडा दर पनि महँगो नै रहने अवस्था छ। यसको समाधानको लागि सबै उपायहरू लगाएर भाडदरमा भइरहेको अनियमिततालाई चेक गर्न आवश्यक रहेको बुझाउँदै हामीले हाम्रा सुझाव दिएका छौँ।

ग) यसरी विमानस्थलमा हुने निर्माण कार्यकै कारण देशको हवाई यातायात र भाडा दर प्रभावित हुनेभएकोले अहिले भइरहेको विमानस्थल निर्माणका कामहरूलाई ‘के–कस्तो उपायहरू लगाएर थप गतिशील बनाउँदै निर्माणको अवधि घटाउन सकिन्छ? जसले गर्दा निर्माण अवधि घट्न सक्छ’, भन्ने हाम्रो चासोका विषयमा मन्त्रालयले काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ, जुन सराहनीय छ। 

२. कोरियामा जाने श्रमिकहरू महँगो हवाई–भाडदारका कारण एकदमै ठुलो मारमा परेका छन्। नेपाल वायुसेवालाई नै कोरिया उडान गराएर हुन्छ वा अन्य विकल्प खोजेर हुन्छ जसरी पनि यो समस्या समाधान गर्नुपर्छ भन्ने धारणा राख्यौँ।  यस सम्बन्धमा मैले अध्ययन गरेर, अन्तरक्रिया गरेर लिएको सबै कुराको जानकारी गराएको छु। यसका लागी मन्त्रालयले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, इपिएस,  नेपाल वायुसेवा निगम, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित सबै निकायसँग एकै ठाउँमा बसेर, समन्वय गरी तत्काल  निचोडमा पुगेर कार्यान्वयनमा लिएर जानुपर्नेछ। यसमा मन्त्रीजीले ‘तुरुन्त काम हुने गरी प्रक्रिया अगाडि बढाउँछु’ भन्ने कुराको विश्वास दिलाउनुभएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ १५:४८ शुक्रबार

#Gagan Thapa #Sanjaya Gautam #Expencieve Airfair