राजनीति

म गल्ती गर्दिनँ, गर्नेको अनुहार हेर्दिनँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन्।

कान्तिपुर कन्क्लेभ-२०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्य भएको बताए।

अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले दोहोर्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा लिइएको सन्दर्भमा सोधिएको प्रश्मा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने जनाए।  

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने दृढतामा स्पष्ट छु। गल्ती गर्नेमाथि कारबाही गर्नुपर्दा मान्छेको अनुहार हेर्दिनँ। भनेको छु।’ प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं। देश ब्याक गेयर लगाएर पछाडि फर्कन सक्दैन नयाँ पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरुले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन। न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन।’

प्रकाशित: २९ कार्तिक २०८१ १९:१७ बिहीबार